सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय मकवानपुरले सवारी चालकको स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।
सवारी दुर्घटना तथा क्षती न्यूनीकरणको लागि ट्राफिकले हेटौंडा ११ थानाभ¥याङस्थित कार्यालयमा सार्वजनिक ठुला तथा मझौला सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको हो ।
सार्वजनिक सवारी साधनहरुका चालक तथा सह–चालकहरुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा लागूऔषध सेवन गरे÷नगरेको समेत परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुरका ट्राफिक प्रहरी प्रमुख निरीक्षक केशव अधिकारीका अनुसार शिविरमा चालक तथा सहचालकको स्वास्थ्य, आँखा तथा लागूऔषध सेवनको परीक्षण गरिएको हो । ‘लागूऔषध, मादक पदार्थ सेवनका कारण दैनिकरुपमा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्न शिविर आयोजना गरेका हौं । हामी सधैं दुर्घटना न्यूनीकरण गर्न रचनात्मक क्रियाकलाप गर्ने छौं ।’, निरीक्षक अधिकारीले भने ।
उनका अनुसार शिविरमा १५२ जना सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गर्दा ३६ जनामा उच्च रक्तचाप, १२ जनामा न्यून रक्तचाप र १३ जनामा हाई सुगर देखिएको थियो ।
आँखा जाँच गर्दा १ जनामा मोतियाबिन्दु देखिएकोले अप्रेसनको लागि रिफर गरिएको, ३ जना चालकको आँखामा मासु पलाएको, ४ जना चालकको कलर भिजन छुट्याउन नसक्ने, १२ जना दृष्टि दोष र ३ जना चालकको सुगरका कारण आँखाको पर्दामा रगत जमेको भेटिएको कार्यालयले जानकारी दिएको छ । १५२ जना मध्ये ६० जना चालकहरुको लागूऔषध चेकजाँच गरिएकोमा ४ जना चालकमा लागूऔषध गाँजा सेवन पोजिटिभ देखिएकोले उनिहरुलाई सम्झाएर अबदेखि लागूऔषध सेवन नगर्ने प्रतिवद्धता गराई आफन्तको जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा बागमती प्रदेश प्रहरी अस्पताल रातोमाटे, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटौंडा अस्पताल, सामुदायिक आँखा अस्पताल हेटौंडा, नारायणी यातायात व्यवसायी संघ तथा प्रालिले शिविरमा सहयोग गरेको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख प्रहरी निरीक्षक केशव अधिकारी, नारायणी यातायात प्रालि मकवानपुरका अध्यक्ष गोकर्ण पराजुली, नारायणी यातायात व्यवसायी संघ मकवानपुरका महासचिव सरोज खनाललगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।