हेटौंडा-काठमाडौं छोटो दूरीको वैकल्पिक कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा रोक लगाउने भनिए पनि खुला गरिएको छ ।
सडक कालोपत्र गर्नका लागि मंगलबार अर्थात् असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरिएको थियो । दसैंको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमको समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला गरिएको बताइएको छ ।
दक्षिणकाली नगरपालिकाले सडक कालोपत्र गर्ने कार्य अहिलेलाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा रोक नलगाइएको जनाएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न १२ दिन सवारी आवागमनमा रोक लगाइने सूचना नगरपालिकाले जारी गरेको थियो ।
नगर प्रमुख मोहन बस्नेतका अनुसार दसैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयवासीलाई पनि समस्या हुने भएकाले अहिलेलाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए ।
उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।