२०८१ माघ २८, सोमबार    

स्कर्पियो–कार ठक्कर : १३ घाइतेमध्ये १ जनाको मृत्यु [अपडेट]

२०८१ पौष २७, शनिबार १७:५५ बजे

पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुईवटा सवारी एकआपसमा ठोक्किँदा घाइते भएका १३ मध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो मनहरी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा चितवनतर्फ आउँदै गरेको प्रदेश १– ०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाए । उनको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको छ । यस दुर्घटनामा अन्य १३ जना घाइते रहेको र सबैको चितवनमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, ५० वर्षीय सुनिता श्रेष्ठ र २१ वर्षीय सुमिना श्रेष्ठ घाइते भएका छन् ।

स्कर्पियोमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका २६ वर्षीय पुजादेवी साह, ८ वर्षीया प्रियान्सी साह, २३ वर्षीया सुरदीदेवी साह, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, ४ वर्षीया दिब्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा, १९ वर्षीया रोशनी शर्मा रहेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले घाइतेको उद्धार गरेको थियो । घाइतेहरुको अवस्था गम्भीर भएपछि तत्काल उनीहरुको उपचारका लागि चितवन पठाइएको थियो । अन्य घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।