२०८० चैत्र १६, शुक्रबार    

चर्च ब्वाइज ए डिभिजनमा उक्लियो

२०७८ चैत्र २२, मंगलबार १३:३२ बजे

लिगको एक खेल बाँकी छँदै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको छ ।

मंगलबार भएको लिगको १२औं चरणको खेलमा बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै चर्च ब्वाइज लिगको एक खेल बाँकी छँदै च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा चर्च ब्वाइजको जितमा साइमन लिम्बुले ह्याट्रिकसहित चार गोल गरे । एक गोल आशिष चौधरीको नाममा रह्यो । बाँसबारीमा सन्जोक धिमालले एक गोल फर्काए ।

एकपक्षीय बनेको खेलमा चर्च ब्वाइजले खेलको सातौ मिनेटमा साइमन लिम्बुको गोल बाट अग्रता लिएको थियो । १७औं मिनेटमा आशिस चौधरीले गोल गदै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा साइनम लिम्बुले गोल गर्दै चर्च ब्वाइजलाई ३–० ले अघि बढाए । ४१औं मिनेटमा साइमन लिम्बुले ह्याट्रिक पुरा गर्दा चर्च ब्वाइज खेलमा ४–० ले अघि बढ्यो ।

६३औं मिनेटमा सन्जोक धिमालले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । ८५औं मिनेटमा साइमन लिम्बुले गोल गर्दै चर्च ब्वाइजको फराकिलो जित पक्का गरे । शीर्षस्थानमा रहेको चर्च ब्वाइजको १२ खेलबाट २६ अंक पुगेको छ । चर्च ब्वाइजले १२ खेलमा ८ जित र समान दुई बराबरी र हारको नतिजा निकालेको छ ।

२०६६ सालमा स्थपित चर्च ब्वाइज स्थापनाको १३ वर्षमै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो । चर्च ब्वाइजले २०७६ र २०७७ मा ‘सी’ डिभिजन छनोट खेलेको थियो । ‘बी’ डिभिजन खेलेको पहिलो सिजन नै चर्च ब्वाइज च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो । चर्च ब्वाइजले ‘सी’ डिभिजन खेल्नुअघि मोफसलका विभिन्न प्रतियोगिताहरु खेल्दा ३० भन्दा बढी उपाधि जित्न सफल भएको थियो ।