२०८० चैत्र १५, बिहीबार    

युनियनको कानूनी सल्लाहकारमा ढकाल नियुक्त

२०८० जेठ १३, शनिबार १९:४५ बजे

नेपाल प्रेस युनियन मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहन ढकाल नियुक्त भएका छन् ।

युनियन मकवानपुरको शनिवार बसेको कार्यसमिति बैठकले संस्थाको कार्यसम्पादनलाई व्यवस्थित बनाउन आवश्यक राय सुझाव लिने उद्देश्यले कानूनी सल्लाहकारमा अधिवक्ता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थाको वित्तीय कारोबारलाई पारदर्शी एवम् चुस्त बनाउन रजिष्ट्रर अडिटर रमेश गिरीलाई लेखा परिक्षक (अडिटर) नियुक्त गरेको छ ।

बैठकले युनियनको कार्यसमितिमा थप २ जनालाई मनोनितसमेत गरेको अध्यक्ष सुवास विडारीले जानकारी दिए । उनका अनुसार सहसचिव पदमा मनिषा बस्नेत र सदस्य पदमा विकल्प चौलागाईंलाई मनोनित गरिएको हो ।

त्यस्तै बैठकले प्रशिक्षण विभाग गठन गरेको छ । प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले २०८० लाई तालिम/प्रशिक्षण वर्ष घोषणा गरेको सन्दर्भमा मकवानपुर शाखाले पनि युनियनकर्मीहरुका लागि प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण विभाग गठन गरेको सचिव बलराम पुडासैनीले जानकारी दिए ।

उनका अनुसार विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष कपिल खड्कालाई दिइएको छ ।

त्यस्तै गत वैशाख ३१ गते प्रेस युनियनको ७ औँ जिल्ला अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभिन्न तवरबाट भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्दै बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ ।