मकवानपुर प्रहरीले लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकलाई धमाधम मुद्दा चलाउन थालेको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी विभिन्न राजमार्गमा लापसेको परीक्षण गर्ने गरेका छन् ।
लापसे परीक्षणका क्रममा प्रमाणित भएका चालकहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइएको हो । मकवानपुर प्रहरीले एकहप्तामा चारजना सवारी चालकलाई लागूपदार्थ औषध ऐन-२०३३ अनुसार जिल्ला अदालत मकवानपुरमा कारबाहीका लागि मुद्दा दायर गरेको छ ।
‘मानिसको ज्यानभन्दा ठूलो कुरो केही छैन । हामीले जनस्वास्थ्य कार्यालयसँग किटको सहयोग मागेर फरक-फरक रुटमा लापासे परीक्षण गर्दै आइरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जिल्लामै पहिलो पटक लापसे गरी सवारी चलाउनेलाई मुद्दा चलाइएको बताए ।
विशेष गरी यात्रुवाहक सवारी चालकले नसालु पदार्थ सेवन गरी सवारी चलाएको चौतर्फी गुनासो बढेसँगै मकवानपुर प्रहरी र ट्राफिकले सक्रियता बढाएका हुन् । ट्राफिकले विभिन्न स्थानमा सवारी दुर्घटना र क्षति न्यूनीकरण अभियानअन्तर्गत लापसे र मादक पदार्थ सेवनको जाँच अभियानलाई तीव्र बनाइएको अर्यालले बताए । यो अभियानलाई निरन्तर अघि बढाइने उनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख निरीक्षक केशव अधिकारीका अनुसार संघीय राजधानी प्रवेश गर्ने धेरै बाटो मकवानपुर जिल्ला भएर पर्नेहुँदा दुर्घटना न्यूनीकरण गर्न दैनिकजसो अभियान सञ्चालन गरिरहेको बताए । ‘हामीले मोडहरुमा साइनबोर्ड राख्ने, विभिन्न स्थानमा छड्के चेक गर्ने काम गरिरहेका छौं । जसले गर्दा सवारी दुर्घटनाको संख्यामा समेत कमी आइरहेको छ,’ उनले दाबी गरे ।
मकवानपुरबाट पूर्व-पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ, धरान–चतरा, कुलेखानी–सिस्नेरी, कुलेखानी–फाखेल, कुलेखानी–मातातीर्थ र चित्लाङ–चन्द्रागिरी सडक खण्ड भएर संघीय राजधानी काठमाडौं प्रवेश गर्न सकिन्छ । यस रुटमा सवारी दुर्घटना बढी हुने गरेका छन् । जसका कारण प्रहरी–ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम गर्दै आइरहेका छन् ।