२०८१ बैशाख १३, बिहीबार    

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार बन्ने तयारीमा

२०७९ श्रावण ३१, मंगलबार ०८:५७ बजे

सरकारले आगामी मङ्सिर ४ गते मतदान हुने गरी प्रतिनिधि र प्रदेशसभाको चुनावको मिति घोषणा गरिसकेको छ । चुनावको मिति घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन् ।

चुनावको मिति नजिकिएसँगै मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भएको छ । दल र दलमा आबद्ध नेताहरूले आ–आफ्नो तयारी अनुसार चुनावी क्षेत्रमा माग दाबी तथा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैबीच मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी आमनिर्वाचन रोचक हुने देखिन्छ । एकातर्फ नेकपा एमाले र अर्कोतर्फ ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारबीच भिडन्त हुने आकलन गरिरहँदा सो क्षेत्रमा राप्रपा र राप्रपा नेपाल पनि मैदानमा उत्रिने तयारीमा छन् ।

मकवानपुर–१ मा एमालेबाट कृष्णप्रसाद दाहाल, मदन दाहाल र रघुनाथ खुलालको चर्चा छ भने काँग्रेसबाट इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बताइएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा भने सो क्षेत्रमा खासै चर्चा भएको छैन । मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिकाको १९ वडामध्ये १५ वटा वडा पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा पर्दछन् ।

कमल थापालाई राप्रपाले चुनौती दिने

यस क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उम्मेदवार बन्ने तयारीमा छन् । तर उनलाई राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह चुनौती बन्ने देखिन्छन् । दुवै नेताको निर्वाचन क्षेत्र मकवानपुर–१ नै हो । थापा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ का मतदाता हुन् भने सिंह हेटौँडा–४ बाट मतदाता छन् ।

४० वर्षभन्दा बढी समय एउटै पार्टीमा रहेर सक्रिय राजनीति गरेका उनीहरू आगामी निर्वाचनमा एक अर्काका प्रतिस्पर्धीका रूपमा देखिने भएका छन् । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए । थापाले सोही पार्टीको ‘तीर’ चुनाव चिन्हबाट मकवानपुर–१ मा उम्मेदवार भएर निर्वाचनमा जाने घोषणा गरिसकेका छन् ।

यता, सिंह भने राप्रपाको ‘हलो’ चिन्ह बोकेर चुनावको तयारीमा जुटेका छन् । गत स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धन र एमालेका उम्मेदवारलाई हम्मेहम्मे बनाएका सिंह पराजित भएका थिए । सो निर्वाचनमा पराजित भए पनि उनी सो क्षेत्रमा राप्रपाको एक मात्र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । सोही अनुसार उनी संघीय निर्वाचनको तयारीमा जुटेका हुन् । सिंह पहिलो पटक प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्दै छन् ।