२०८१ चैत्र ७, बिहीबार    

मउवा संघमा विवाद, न्यायको लागि अदालतसम्म जान्छु : पाण्डे

२०८१ माघ ७, सोमबार १९:१० बजे

मकवानपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन भएपछि पहिलो वैठकमा विवाद देखिएको छ ।

महिला उद्यमी विकास समितिको सभापतिको विषयलाई लिएर संघको सोमबार बसेको वैठकमा विवाद भएको हो । संघको विधान अनुसार समितिको सभापतिमा निर्वाचित महिला कार्यसमिति सदस्यहरुमध्येबाट सदस्यताको अवधि र ज्येष्ठतालाई आधार मानी अध्यक्षले चयन गर्ने व्यवस्था रहेको भएपनि त्यसलाई बेवास्ता गरेको आरोप महिला सदस्य निलम पाण्डेले लगाएकी छिन् ।

‘संघको विधान अनुसार म चौथो कार्यकालको रुपमा निर्वाचित भएको हुँ । म सभापति हुनुपर्छ । तर, मलाई बाइपास गरियो ।’, पाण्डेले विधानको उल्लंघन गरिएको खण्डमा आफू जिल्ला प्रशासन कार्यालय र अदालतसम्म पुग्ने बताइने । उनले माघ १६ गते बस्ने संघको वैठकमा यस विषय सहजतापूर्वक नटुंगिएको खण्डमा आफू न्यायको लागि संघर्ष गर्ने बताइन् । ‘संघको विधानको विषयमा मैले कानुनी सल्लाहकारलाई जानकारी दिइसकेको छु ।’, उनले भनिन् ।

समितिको सोमबार बसेको वैठकले सीतादेवी भेटवाललाई सभापतिमा चयन गरिएको जानकारी गराइएको थियो ।