२०८० चैत्र १६, शुक्रबार    

वीरगन्जमा फेल भएका लाइसेन्स जनकपुरबाट पास

२०७९ भाद्र २८, मंगलबार १३:२९ बजे

हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक ९ट्रायल० परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको हो ।

 

यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको यूजर ९खाता० प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको छ । सामान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भरको ईडीएलभीआरएस सफ्टवेयरमा मध्यराति रिजल्ट अपडेट गरिएको मधेस प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले जनाएको छ । वीरगन्जमा फेल भएकालाई रातिको समयमा जनकपुर कार्यालयबाट सर्भरमा सवारी चालकको लाइसेन्स परीक्षामा उत्तिर्ण गराई लाइसेन्स दिइएको छ ।

 

अवैध तरिकाले वितरण गरिएको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालय जनकपुरले यातायात व्यवस्था विभाग र मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जानकारी गराएको छ । वीरगन्ज कार्यालयले प्रयोगात्मक परीक्षामा पास गरेका परीक्षार्थीको सूची तयार गरेको थियो । पास भएकाको नाम सूचीबाट लाइसेन्सका लागि राजस्व बुझ्ने क्रममा अवैध रुपले फेल भएकालाई सर्भरमा पास गरेको पाइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशील साहले बताए । लाइसेन्सको राजस्व बुझाउने क्रममा कार्यालयले तयार गरेको सूचीमा फेल तर सर्भर ईडीएलभीआरएसमा पास भएको देखिएपछि शंका लागेर क्रस चेक गर्दा जनकपुरबाट रातिको समयमा सर्भरमा रिजल्ट अपडेट गरेको पाइएको थियो । त्यसपछि भने ६२ जनाकै लाइसेन्स रद्द गरिएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख साहले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव दिपककुमार दासका अनुसार रातिको समयमा अवैधरुपले वितरण गरिएको लाइसेन्सबारे खोजबिन भइरहेको छ । मन्त्रालय र यातायात व्यवस्था कार्यालय तथा विभागबाट अनुसन्धान सम्भव नरहेकाले प्रमाणसहित प्रहरीलाई जानकारी गराउने तयारी भइरहेको उनले बताए । सचिव दासकाअनुसार यातायातको सर्भरमा ०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा ४२ जना, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र ०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनाको ‘जी’ समुह हेभी सवारीको चालक अनुमतिपत्रको लागि जनकपुरबाट ईडीएलभीआरएसमा पास गराई इन्ट्री गरिएको छ । जनकपुर यातायातमा लामो समयसम्म कम्प्युटर अपरेटर र हलुका सवारी चालकको रुपमा कार्यरत रही ०७५ चैत २६ गते सेवा करारबाट निलम्बन भएका मुकेशकुमार बर्माको युजर९खाता० एमके बर्मा प्रयोग गरी यातायातको सर्भरमा रिजल्ट अपडेट गरिएको हो । बर्माको खाताबाट वीरगन्जमा फेल भएकालाई पास गरिएको सचिव दासले बताए ।

जनकपुर यातायात व्यवस्था कार्यालयमा ०६६ फागुन १७ गते कम्प्युटर अपरेटरमा नियुक्त भएका बर्मा ०७४ माघ १० गतेदेखि ०७५ चैत २६ गतेसम्म सवारी चालकको पदमा कार्यरत थिए । कार्यालयमा अनैतिक काम गरेको आरोप लागेपछि बर्मालाई ०७५ चैत २६ गते सेवा करारबाट हटाइएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहले बताए । ‘कार्यालयबाट निलम्बन भएका बर्माको युजर पनि बन्द गरिएको थियो,’ प्रमुख साहले भने, ‘करार सेवाबाट हटाइएपछि उनको युजरसमेत डिएक्टिभेट गरिएको थियो । बन्द खाताबाट यातायातको सर्भरमा अवैध लाइसेन्सको इन्ट्री हुनु दुर्भाग्य हो । गुनासो आएपछि खोजी गर्दा तथ्य फेला परेको हो । थप अनुसन्धानका लागि मन्त्रालय र विभागलाई जानकारी गराएको छु ।’

 


वीरगन्जको लाइसेन्स रिजल्ट जनकपुरबाट अपडेट गरिएको घटना यातायात कार्यालय, मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हुँदै यतायात व्यवस्था विभागसम्म पुगेको ३ महिना भन्दा बढी भएपनि गोप्य राखिएको छ । यसअघि पनि जनकपुरमा १ हजार ७ सय ७० भन्दा बढी लाइसेन्स अवैध रुपमा वितरण गरिएको थियो । लाइसेन्स रद्द गरिएपनि अनुसन्धान हुन सकेको छैन । ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्रका लागि यतायात व्यवस्था कार्यालय जनकपुर र वीरगन्जमा सेवाग्राहीबाट १ लाख रुपैयाँसम्म दलालले असुल्ने गरेको पाइएको छ । दलालले संकलन गरेको रकमको ९० प्रतिशत कार्यालयका कर्मचारीलाई दिएपछि दुबै कार्यालयबाट ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्र बन्ने गरेको छ ।