हेटौंडा–काठमाडौं आउजाउ गर्ने सडकमध्ये सवैभन्द व्यस्त छोटोमार्ग १२ दिनका लागि बन्द गरिएको छ । दशैं नजिकिँदै गर्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक कालोपत्रे गर्नका लागि भनेर सवारी सञ्चालनमा रोक लगाइएको हो ।
दक्षिणकाली नगरपालिका काठमाडौंले सोमबार एक सूचना जारी गर्दै दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्न लागिएको जनाएको छ । नगर प्रमुख मोहन बस्नेतका अनुसार कालोपत्रे कार्य अगाडि बढाउनका लागि उक्त सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि मिति १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो ।
नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
यस सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।