२०८१ जेठ ८, मंगलबार    

प्रदेशद्वारा ल्होसार र न्वागीमा सार्वजनिक विदा घोषणा

२०७८ माघ १७, सोमबार १९:३९ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व ल्होसार र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

वर्षेनी तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्था प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को वैठकले प्रदेशको विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय समेत गरेको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । ‘प्रदेश सरकारले यस विषयमा कम्पनीसँग छलफल गरिरहेको छ । हामी आवश्यक परामर्श गरेर अगाडि बढ्नेछौं ।’, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले सरकारले मल कारखाना खोल्नका लागि आवश्यक विद्युतको व्यवस्था गर्न प्राधिकरणसँग छलफल समेत गर्ने भएको छ । ‘धेरै खर्चभन्दा पनि सानो सानो खालका कम खर्चमा हुने उद्योग खोल्ने भनेका हौं ।’, उनले भने ।

मन्त्रिपरिषद्को वैठकले प्रदेश सरकारअन्तर्गत् सञ्चालन हुने वहुवर्षे ठेक्काको पनि मापदण्ड तय गर्ने भएको छ । यसैगरी प्रदेश किताब खाना समेत सञ्चालनमा ल्याउने निर्णय वैठकले गरेको छ । ‘सामुदायिक विद्यालयमा अध्ययन गरेका सवै छात्रालाई स्नातकोत्तरको शिक्षा नि:शुल्क गर्ने निर्णय समेत गरेका छौं ।’, मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्को वैठकले विभिन्न नीतिगत निर्णय समेत गरेको छ ।