२०८१ बैशाख २०, बिहीबार    

गाँजाको पकेट क्षेत्रमा ‘कफी खेती’को सुरुवात

२०८० असार २८, बिहीबार १७:३४ बजे

मकवानपुर र चितवनको विभिन्न क्षेत्रमा अबैधानिकरुपमा हुँदै आएको गाँजालाई न्यूनीकरण गर्न ‘कफी खेती’को सुरुवात गरिएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा विहीबारबाट मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको सुरुवात गरेको हो ।

प्रालिले पहिलो चरणमा मकवानपुर र चितवन जिल्लाको पहाडी भू–भागमा अवस्थित राप्ती नगरपालिका–१, परेवाकोटबाट कफी रोप्न सुरु गरेको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक किरण राणाको उपस्थितिमा कफी खेती सुरु गरिएको हो । यसक्षेत्रका किसानको जीवनस्तर सुधार्न र आत्मनिर्भर बनाउन कफी खेतीको सुरुवात गरिएको प्रालिका सञ्चालक धनबहादुर श्रेष्ठले जनाए ।

यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजान र गाँजको विकल्पको रुपमा कफी खेतीलाई अगाडि बढाइएको प्रालिले जनाएको छ । करिब सातसय कठ्ठा जमिनमा कफी खेती गर्ने प्रालिको लक्ष्य छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गत् विभिन्न वडामा कफी खेती गर्ने योजना रहेको प्रालिका सञ्चालक श्रेष्ठले जानकारी दिए ।