२०८० चैत्र १६, शुक्रबार    

पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’

२०७९ पौष २७, बुधबार १७:४३ बजे

वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएसँगै पुराना मन्त्रीहरु पदमुक्त भइसके। राजेन्द्र पाण्डेले सरकार छाडेको दिन गन्ने हो भने चार दिन पुग्यो सरकार मन्त्रीहरु निवर्तमान बनेको ।

सोमवार शलिकराम जमरकट्टेलले नयाँ मुख्यमन्त्रीका रुपमा वाग्मतीको बागडोर सम्हालिसकेका छन् । नयाँ सरकार आएसँगै पूर्ववर्ती सरकारका मन्त्रीहरुले सरकारी सेवासुविधा छाड्नुपर्ने हुन्छ । तर पाण्डे नेतृत्वको सरकारमा मन्त्री रहेकी कुमारी मोक्तान भने सरकारी गाडीमै सरर हुँइकिरहेकी छिन् । अझ नम्बर प्लेट 'मोडिफाइ' गरेर। उनी मन्त्री हुँदा प्रयोग हुने गाडी नम्बर हो – बागमती प्रदेश ३००१ झ ००७७। मन्त्री हुँदा रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई अहिले सेतो बनाइएको छ। नम्बर उही ।

यही सवारी हुँदै प्रदेशमा सामाजिक विकास मन्त्री रहेकी मोक्तान बुधवार पार्टी कार्यालय पुगिन्। बिहान ११ बजे नै उनी पार्टी कार्यालय घाम ताप्दै थिइन् । वाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्व पाएपछि त्यही आडमा उनले आफ्ना कार्यकाल सकिँदा पनि सरकारी गाडीमा घरदेखि पार्टी कार्यालय, पार्टी कार्यालयदेखि घरसम्म पुगेर कार्यकर्ताहरुसँग गफ गर्न व्यस्त छिन् ।

बुधवार सार्वजनिक बिदाको दिन हो । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिएको हो । एक त मन्त्रालयबाट बिदा लिइसकेकी उनले सरकारी गाडीको प्रयोग गरिरहेकी छिन् भने अर्को बिदाको दिन सरकारी नम्बर प्लेटको गाडीको प्रयोग । उनले यो प्रवृत्तिले पूर्वमन्त्रीहरु लज्जित बन्नुपरेको निवर्तमान मन्त्रीहरु नै बताउँछन् ।