मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका बासिन्दालाई आलु खन्न भ्याइ नभ्याई छ । थाहा नगरपालिकाको १२ वटै वडाका बासिन्दाहरुको अहिले आलु खन्ने र बिक्री गर्ने बेला भएको छ ।
उक्त क्षेत्रका बासिन्दालाई अहिले आलु खन्न व्यस्त छन् । माघमा रोपेको आलु जेठको तेस्रो सातादेखि खन्ने काम सुरु हुन्छ । यो वर्ष आलु उत्पादनका लागि मौसम राम्रो भएकाले आलुको उत्पादन बढेको छ ।
‘आलुको उत्पादन राम्रै छ,’ स्थानीय कृषक सुदर्शन विष्टले भने, 'आलु खरिद गर्न बाहिरबाट पनि व्यापारीहरु आएर आलु खरिद गरिरहेका छन् ।’ सेतो आलु प्रतिकेजी ३० रुपैयाँ र रातो आलु प्रतिकेजी ४० रुपैयाँमा बिक्री हुने गरेको छ । आलुको मुल्य राम्रो भएकाले यस क्षेत्रका आलु उत्पादक कृषकहरुमा खुशी छाएको छ ।
'खन्दाखन्दै खेतबाट नै व्यापारीहरुले आलु खरिद गरेर लैजाने गरेका छन्,' कृषक नवराज कार्कीले भने, ‘अहिलेको वर्ष आलु पनि राम्रै फल्यो, भाउ पनि पहिलाको भन्दा राम्रो छ ।’ यहाँ उत्पादित बेमौसमी आलु वीरगन्ज, काठमाडौं, हेटौंडा, चितवन, कलैया, पोखरालगायतका शहरमा जाने गरेको छ ।
थाहा नगरपालिका कृषि शाखाका अनुसार नगर क्षेत्रबाट वर्षेनि करिब एक अर्व रुपैयाँको आलु निर्यात हुने गर्छ । यस क्षेत्रका कृषकहरुले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलु लगाउने गर्छन् । माघको दोस्रो सातादेखि आलु रोप्न सुरु हुन्छ । 'फागुनको पहिलो सातासम्म आलु रोप्ने काम सकिन्छ । जेठको तेस्रो सातादेखि आलु खन्ने काम सूरु हुन्छ,' थाहा कृषि शाखा प्रमुख सन्जय अधिकृत तिवारीले भने ।
कृषि विकास कार्यालय अनुसार थाहा नगरपालिका क्षेत्रमा ६ हजार ३ सय रोपनीमा आलु खेती गरिन्छ । गत वर्ष झण्डै ८ हजार टन आलु उत्पादन भएको थियो । यो वर्ष १० हजार टन आलु उत्पादन हुने अनुमान गरिएको छ । 'गत वर्ष पनि थाहा नगरपालिकामा आलुको उत्पादन राम्रो थियो। तर बिक्री मुल्य अहिलेको जस्तो थिएन, सस्तो थियो,' पालुङका कृषक अर्जुन कार्कीले भने ।
थाहा नगरपालिकाको दामन, पालुङ, बज्रवराही, चित्लाङ, टिष्टुङ र आग्रा क्षेत्रका कृषकहरु अहिले आलु खेतमा नै व्यस्त छन् ।नगरपालिकाका कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी हो । त्यसमा पनि सबैभन्दा बढी आलु हो । आलु उत्पादनले नै उक्त क्षेत्रका अधिकांश बासिन्दाहरुको वर्ष दिनको आर्थिक कारोवारको निर्धारण गर्छ । साविकको दामन, पालुङ, आग्रा, टिष्टुङ, चित्लाङ र बज्रवराही गाविस समेटेर बनेको उक्त थाहा नगरपालिकास्थित शतप्रतिशत जग्गामा आलु खेती गरिन्छ ।
यो क्षेत्रमा प्रति रोपनी १५ क्वीन्टलसम्म आलु उत्पादन हुने गरेको छ । यस क्षेत्रका कृषकहरुले आलुको आम्दानीबाट आफ्ना आवश्यकताहरु परिपुर्ति गर्ने गरेका छन् । काम गर्ने श्रमिकको अभावले गर्दा आलु रोप्ने र खन्ने बेलामा समष्या हुने गरेको छ । आलु सुरक्षितसाथ भण्डारन गर्ने स्थानको अभावले गर्दा कृषकहरुले आलु खन्दाखन्दै खेतबाट नै बिक्री गर्ने गर्छन् ।
नगरपालिकाले वर्षेनि आलुको करबाट मात्र करिब ५७ देखि ६० लाख रुपैयाँ राजस्व संकलन गर्ने गर्छ । यहाँबाट निर्यात हुने आलुलगायत अन्य तरकारीमा पाँच दशकदेखि स्थानीय कर लगाउने गरेको छ । २०३१ सालदेखि ‘थाहा’रुपचन्द्र विष्टले दामन र पालुङमा आलुमा कर लगाउन सुरु गरेका थिए ।
त्यही करबाट संकलन भएको रकम यस क्षेत्रको शैक्षिक विकास एवं भौतिक पुर्वाधारहरुको निम्ति खर्च गरिदै आएको थियो । उक्त कर अहिले थाहा नगरपालिकाले लगाउने गरेको छ । यस क्षेत्रमा आलु खेती २०१८ सालदेखि सूरु गरिएको स्थानीय वुढापाकाहरुको भनाई छ ।
'पहिला तरकारी खानको निम्तिमात्र आलु खेती गरिन्थ्यो, अहिले बिक्रीको निम्ति आलु खेती गर्न थालिएको छ । आलुको उत्पादनसँग यस क्षेत्रका बासिन्दाहरुको जीवनशैली जोडिएको छ । आलुसँगै अहिले अरु तरकारी खेती पनि व्यवसायिक ढंगले गर्न थालेका छन्,' स्थानीय किसान कार्कीले भने, 'तर मुख्य आम्दानीको स्रोत भनेको आलु नै हो । यस क्षेत्रमा बेमौसमी तरकारी खेतीको सूरुवात गराउने पनि रुपचन्द्र विष्ट नै हुन् । यस क्षेत्रका बासिन्दाको आर्थिक रुपमा परिवतन आउनु, शैक्षिक रुपमा अगाडी बढ्नु चेतनास्तर उठ्नुमा तरकारी खेतीको महत्वपूर्ण भुमिका रहेको छ ।'
पर्यटकीय क्षेत्रको रुपमा परिचित थाहा नगरपालिकामा ८ हजार ९ सय ९५ घरधुरी रहेका छन् । २०७८ को जनगणना अनुसार नगरपालिकामा ३९ हजार १ सय ६३ जनसंख्या रहेको छ । उक्त नपामा पुरुषको भन्दा महिलाको सख्या बढी छ । थाहामा १९ हजार ९ सय २२ महिलाको जनसंख्या छ भने १९ हजार २ सय ४१ पुरुष रहेका छन् ।