विराट कोहलीलाई उनको पुस्ताका सबैभन्दा पोख्त खेलाडी मानिन्छ । उनी हुन्, करोडौं भारतीय समर्थकका नायक पनि ।
एक उम्दा खेलाडी तथा पूर्वकप्तानका रूपमा उनले टेस्ट क्रिकेटमा ९ हजार २ सय ३० रन बनाए । औसत थियो, ४६.८५ । अनि उनले ३० शतक र ३१ अर्धशतक पनि बनाए । यिनै कोहलीले सोमबार टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । सन् २०११ मा डेब्यु गरेयता उनले १ सय २३ टेस्ट खेले, यसमा उनको उच्च स्कोर रह्यो, २ सय ५४ । पछिल्लो दशक चार ब्याटरले टेस्ट क्रिकेटमा आफ्नो प्रभुत्व कायम राखे र उनीहरूलाई ‘फ्याब–फोर’ पनि भनिन्थ्यो । त्यसकै एक सदस्य थिए, ३६ वर्षीय कोहली पनि ।
त्यसमा पर्ने अरू खेलाडी थिए, अस्ट्रेलियाका स्टिभ स्मिथ, न्युजिल्यान्डका केन विलियम्स र इंग्ल्यान्डका जोए रुट । उनको उपनाम नै थियो, ‘किङ कोहली’ । क्रिकेटका तीनै ढाँचामा भारतका लागि उनी ब्याटिङको मेरुदण्ड थिए । गत वर्ष बारबाडोजमा भएको विश्वकप फाइनलपछि कोहलीले ट्वान्टी–२० क्रिकेटबाट संन्यास लिएका थिए ।
त्यति बेला भारत च्याम्पियन पनि बनेको थियो । त्यति बेला उनीसँगै कप्तान रोहित शर्माले पनि संन्यासको घोषणा गरेका थिए । शर्माले पनि केही दिन अगाडि मात्रै टेस्ट क्रिकेट नखेल्ने घोषणा गरेका थिए । अब कोहली र शर्माले खालि ५० ओभरको क्रिकेट मात्र खेल्नेछन् । पाँच दिनको क्रिकेटमा कोहलीको प्रदर्शन लगातार खराब प्रदर्शन भइरहेको थियो र यो नै टेस्ट क्रिकेटबाट उनको संन्यास घोषणाको मुख्य कारण मानिएको छ ।
२०११ देखि २०१९ बीच टेस्ट क्रिकेटमा उनी उच्च लयमा रहे, यति बेला उनको औसत ५५ को छेउ थियो । तर पछिल्लो २४ महिनाको समयमा उनको औसत झरेर ३२.२५ पुगेको थियो । ‘विराटले कहिले पनि कीर्तिमानका लागि खेलेनन्, ती कीर्तिमान त उनको खेलसँगै जोडिन आएका मात्र हुन्,’ कोहलीका आत्मकथा लेखक विजय लोकपाल मान्छन्, ‘ब्याटिङ कला र कामप्रतिको समर्पणको मिश्रणले उनको खेल आफैंमा जादुयी सावित भएको थियो ।’
उनी थप्छन्, ‘लामो समय क्रिकेट खेलेपछि कीर्तिमानहरू जोडिनु स्वाभाविक नै हो । यही तथ्य सुनील गावस्कर, कपिल देव र सचिन तेन्दुलकरजस्ता खेलाडीमा पनि लागू हुन्छ ।’ भारतीय क्रिकेट समर्थकमाझ उनी असाध्यै धेरै लोकप्रिय थिए र उनको यो लोकप्रियता भारतमै मात्र सीमित नरहेर बाहिर पनि उत्तिकै थियो । कुनै समय तेन्दुलकर आफैंमा कति लोकप्रिय थिए, कोहली पनि कुनै समय त्यत्तिकै लोकप्रियताको शृंखलाबाट गुज्रिने मौका पाए ।
संयोगले कोहलीका लागि पनि तेन्दुलकर आदर्श नै थिए । भारतका लागि खेल्ने क्रममा उनले १८ नम्बरको जर्सी लगाएका थिए र यो नै भारतमा व्यापारिक रूपमा सर्वाधिक बिक्री हुनेमा रह्यो । उनले यो नम्बर रोज्नु पछाडि दुई कारण थिए । पहिलो उनले २००८ को अगस्ट १८ मा वान डे क्रिकेटमा डेब्यु गरेका थिए । यस्तै २००६ को डिसेम्बर १८ मा उनको बुबा प्रेम कोहलीको निधन भएको थियो । आफ्नै बुबाको सम्मानका लागि पनि उनले यो नम्बर लगाए ।
कोहलीका नाममा २६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन रहेका छन् । उनले तीनै ढाँचाको क्रिकेटमा कुल ८० शतक बनाएका छन् । त्यसैले पनि कोहलीको अधिकांश समय तेन्दुलकरसँग तुलना हुने गर्छ । तर लोकपाल यसमा विमति राख्छन् । उनी भन्छन्, ‘यो तुलनामा म सहमत छैन किनभने दुवै खेलाडीको खेल्ने शैलीमा धेरै अन्तर छ । तेन्दुलकरले आफ्नो खेल जीवनका केही ठूला नाम बलरका रूपमा सामना गरे । कोहली भने आफ्नो समकालीन बलरमाथि हाबी रहे ।’
मैदानमा सधैं अत्यधिक आक्रामक देखिने कोहली यसै कारण पनि आफ्ना समर्थकमाझ बढी लोकप्रिय रहे, यति हुँदाहुँदै पनि मैदानमै उनले आफूले सम्मान गर्नेको खुट्टा ढोग्न चुकेनन् र सेल्फी लिने काम गरिरहे । उनी कति धेरै लोकप्रिय रहे भने इन्स्ट्राग्राममा उनलाई पछ्याउनेको संख्या २७ करोड १० लाख रहेको छ । त्यही इन्स्ट्राग्राममा संन्यास घोषणा गर्दै लेखेका छन्, ‘संन्यासको घोषणा सजिलो रहेन । तर मलाई लाग्छ, यो नै उपयुक्त समय पनि हो ।’
उनले भनेका छन्, ‘मैले टेस्ट क्रिकेटका लागि आफूले सक्दो सबै दिएँ तर यसले पनि मलाई त्योभन्दा बढी फिर्ता दिएको छ । मैले टेस्ट क्रिकेटबाट बिदा लिँदा सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ टेस्ट क्रिकेटमा उनी भारतकै सबैभन्दा सफल कप्तान पनि हुन् । उनले ६० टेस्टमा कप्तानी गरेका छन्, त्यसमध्ये ४० मा जित र १७ मा हार बेहोर्नुपरेको थियो । कमाउने मामिलामा पनि उनी नै अगाडि रहे । उनी भारतकै सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्षमा रहे । उनले खेलेर र अन्य ब्रान्डको विज्ञापन गरेर करोडौं डलर कमाए ।
अंकमा कोहली
७– कोहलीले टेस्ट क्रिकेटमा सातपल्ट दोहोरो शतक बनाए । उनी भारतीय खेलाडीमध्ये सबैभन्दा बढी दोहोरो शतक बनाउने खेलाडी हुन् । समग्रमा भने चौथो । त्यसमध्ये ६ दोहोरो शतक असाधारण १८ महिनामा सम्भव भएको थियो, २०१६ को जुलाईदेखि २०१७ को डिसेम्बरबीच ।
३०– उनले कुल ३० शतक बनाए । टेस्ट क्रिकेटमा उनीभन्दा बढी शतक बनाउने १४ अन्य खेलाडी मात्र छन् ।
४६.८५– उनको टेस्ट औसत आफैंमा उच्च रहेको छ ।
१२३– उनले भारतका लागि १ सय २३ टेस्ट खेले । त्यसमध्ये ६८ टेस्टका कप्तान रहे ।
२५४– उनको उच्च टेस्ट स्कोर २ सय ५४ रह्यो । उनले यो २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध पुनामा बनाएका थिए । त्यस इनिङ्समा उनी अविजित पनि रहे र यो नै संयोगले उनको अन्तिम दोहोरो शतक पनि रह्यो ।
९२३०– उनले कुल ९ हजार २ सय ३० रन बनाए । भारतका लागि सर्वाधिक टेस्ट रन बनाउने सूचीमा चौथोमा छन् । उनको भन्दा बढी सचिन तेन्दुलकर, राहुल द्रविड र सुनील गावस्करले बनाएका छन् ।