२०८१ कार्तिक २०, मंगलबार    

जेसीज कप खुला फुटबलको टिम दर्ता २० गतेसम्म

२०८१ कार्तिक १२, सोमबार १८:२४ बजे

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरको खेल मैदानमा हुन लागेको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको टिम दर्ता मिति यही कात्तिक २० गतेसम्म रहेको आयोजकले जनाएको छ ।

टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुँदैछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । चैनपुर जेसीज मनहरीको आयोजनामा खुला फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । फुटबल खेलको विकास एवम् युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिन लागिएको जेसीजका अध्यक्ष रविन ढकालले जानकारी दिए । प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जेसीजका महासचिव श्रीकृष्ण ढकालले बताए ।

मनहरी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । अन्य विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोगका लागि समन्वय भैरहेको बताइएको छ । प्रतियोगिताको संयोजक कार्यकारिणी उपाध्यक्ष महेश खुलाल तथा सहसंयोजकमा उपाध्यक्ष उज्वल विष्ट र खेलकुद संयोजक प्रदीप थापा रहेका छन् । अघिल्लो वर्ष भएको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको थियो ।

यस वर्ष जेसीज कप फुटबलको राशीमा वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ प्राप्त गरेको थियो ।