हेटौंडाबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षका सुजित सर्राफ रहेका छन् ।
उनको साथबाट बिस्कुटको आकारको ५ वटा टुक्रा र एकथान सिक्री गरी ४९० ग्राम ८८० मिलिग्राम सुन फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुनको मंगलबारको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोइनटमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ६९६ नम्बरको माइक्रो चेकिङको क्रममा अवैध सुनसहित सर्राफ पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा उनको शरीर तथा झोला खानतलासी गर्दा खुट्टाको पैतलाको भागमा कालो टेपले बेरेर लुकाई ल्याएको अवस्थाको बिलबिजक नभएको सुन फेला परेको प्रहरीले बताएको छ ।
यद्यपी प्रहरीले पक्राउ गरेको सामानलाई सुन जस्तै देखिने पदार्थ भनेको छ । सुनसहित पक्राउ परेका सर्राफमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले बताए ।