२०८१ बैशाख ११, मंगलबार    

प्रदेशमा उपसभामुख चयन आज

२०७९ माघ २, सोमबार ०९:५३ बजे

बागमती प्रदेशको उपसभामुखका लागि सोमबार निर्वाचन हुँदैछ। 

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि निर्वाचन हुन लागेको हो। सोमबार बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि मत विभाजन हुने प्रदेशसभा सचिवालयले जनाएको छ। शुक्रबार निर्वाचन प्रणाली मार्फत नै सभामुख चयन गरेको बागमतीमा उपसभामुखको निर्वाचन तालिका सार्वजनिक भएको थियो। 

उपसभामुखका लागि तीन जनाको उम्मेदवारी शुक्रबार नै दर्ता भइसकेको छ। सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो। राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भइसकेका छन्। 

उपसभामुख पनि गठबन्धनकै भागमा पर्ने लगभग निश्चित जस्तै छ। तर  संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुखको पनि उम्मेदवार उठाएको छ।  

११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको नेतृत्व छ। प्रदेशसभाको ५ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ। कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा छ।

समाजवादीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेको भए पनि सभामुखमा राप्रपा उम्मेदवारलाई भने सहयोग गरेको थिएन। सभामुख निर्वाचनमा समाजवादी तटस्थ बसेको थियो। त्यसैले उपसभामुखको निर्वाचनमा पनि समाजवादीको भूमिका के हुन्छ भन्ने चासो छ। समाजवादीको समर्थन नरहेपनि सत्ता गठबन्धनलाई खासै असर पर्ने देखिँदैन। 

प्रतिपक्षमा रहेका दुई दलले पनि आ–आफ्नो उम्मेदवार खडा गरेको छ। सभामुखको निर्वाचनमा भाग लिएको नेपाली कांग्रेस र नेमकिपाले उपसभामुखमा पनि उम्मेदवार उठाएको छ। नेमकिपाको बागमती प्रदेश सभामा ३ सिट छ। प्रदेश सभाको ठूलो दल समेत रहेको नेपाली कांग्रेसको ३७ सिट छ। तर सरकारमा जान बहुमत नपुग्ने भएपछि अहिले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ।  गठबन्धनको साथ खोज्दै सभामुखमा उम्मेदवारी दर्ता गराएको कांग्रेसले आफ्नोबाहेक अन्य दलको एक मत पनि पाउन सकेन। शुक्रबार भएको निर्वाचनमा ३६ मत ल्याएर दोस्रो भएका शिवराज अधिकारी दोस्रो भए पनि उपसभामुखका लागि पनि कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ। 

बागमतीको उपसभामुखमा एमालेकी अप्सरा चापागाईंको सम्भावना बढी छ। उनलाई प्रत्यक्ष ४ दलको समर्थन छ। एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीले सभामुखलाई आएको मत नै आधार मान्ने हो भने उपसभामुख पनि एमालेले नै पाउनेमा शंका छैन। ११० सांसदमध्ये चापागाईंलाई पनि ६२ मत मत आउने निश्चित छ। यता, कांग्रेसको ३७ सांसद छन्। कांग्रेसबाट सभामुखको उम्मेदवार बनेका शिवराज अधिकारीले एक सांसद अनुपस्थित हुँदा ३६ मत पाएका थिए। 
यदि अन्य दलको समर्थन सभामुखलाई जस्तै उपसभामुखलाई पनि नआए सुना परियारले जित्ने सम्भावना रहँदैन। परियार निर्वाचित हुन ५६ सांसदको समर्थन आवश्यक हुन्छ। तर कांग्रेस मात्रैको समर्थनले परियार निर्वाचित हुने अवस्था छैन। ३ सिट मात्रै रहेको नेमकिमा प्रतिपक्षमा छ। नेमकिपाले ५६ सांसदको मत पाउने सम्भावना छैन। 

हालसम्मको सत्ता समीकरणलाई हेर्दा गठबन्धनका साझा उम्मेदवार चापागाईँ नै बागमती प्रदेश सभाको दोस्रो उपसभामुख बन्ने लगभग निश्चित छ। यद्यपी चुनावी मैदानमा होमिएका तीनमध्ये कसको पल्ला भारी होला त्यो भने आज हुने निर्वाचनको मतपरिणाम पछि मात्रै थाहा हुनेछ। 

प्रदेश सभाको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ उपसभामुख थिइन्। सभामुख पाइसकेको प्रदेशसभाले आज उपसभामुख पाएसँगै मुख्यमन्त्रीले भोली मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ।