२०८० चैत्र १६, शुक्रबार    

गढीले भन्यो : ठूलो बजेट बनाउँदा भुक्तानी दिन सकेनौं

२०७९ असार ३२, शनिबार १८:१२ बजे

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आफ्नो स्थितीपत्र जारी गरेको छ । शनिबार गाउँपालिकाका प्रवक्ता दिपेश दहालले गाउँपालिकाको स्थिती पत्र जारी गरेका छन् । उनले गाउँबासीहरुलाई सम्बोधन गर्दै गाउँपालिकाको स्थितीलाई मध्यनजर गर्दै समानुपातिक, समन्यायिक र समुचित तरिकाले गाउँविकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पालिकाको आव २०७८/०७९मा ९२ करोड ६२ लाख त्रियासी हजार रहेकोमा असार मसान्त सम्ममा ७१ करोड ७५ लाख ६१ हजार मात्रै आम्दानी भएकाले आम्दानीभन्दा ठूलो बजेट बनाएको कारण असार मसान्तमा सवै भुक्तानी गर्न नसकिएकोले दायित्व सरेको प्रवक्ता दहालले बताए ।

उनले यसअघिको सरकारले श्रोतको सुनिश्चिता नभइ उपभोक्ताहरुसँग योजना सम्झौता गरिएको, स्रोतले धान्नै नसक्ने गरी दरबन्दीभन्दा बढी कर्मचारी करार र दैनिक ज्यालादारीमा राख्नाले आर्थिक भार परेको, पटकपटक रकम रकमान्तर गरिनुका साथै कार्यपालिकाबाट निर्णय गरी थप योजना गरिएको, बजेटलाई ढिक्कामा राखेर तोक आदेशको आधारमा थुप्रै योजना बाँडफाँड गरिएको, खर्चमा मितव्ययीता अपनाउन नसकेको, बजेट एकीन नगरी कार्यपालिकाबाट खरिद तथा अन्य कार्य गर्न निर्देशन भएको र श्रोत साधन यर्थाथ एकीन नगरी पालिकाले बजेट अनुमान गरिएको जस्ता कार्यले गाउँपालिकामा आर्थिक भार रहेको बताए ।

प्रवक्ता दाहालले पालिकाको दायित्व रकम भुक्तानी गरिने, पालिकामा रहेका अधुरा योजनाहरु रकम विनियोजन गरी पुरा गरिने बताए । अनावश्यक कर्मचारीलाई कटौती गरी दक्ष कर्मचारीबाट कार्य सम्पादन गरिने उनले बताए । ‘भष्ट्रचारलाई शुन्य सहनशीलाको नीति अवलम्बन गरिदैं बजेट विनियोजन भन्दा बाहेकका योजनाहरु कार्यान्वयनमा ल्याइदैन ।’, उनले पालिकाभित्रका सबै कार्यालयहरु प्रविधिमैत्री बनाई सेवा प्रदान गरिने बताए ।

स्थितीपत्र जारी कार्यक्रममा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रीन, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद बजगाईंलगायतको उपस्थिती रहेको थियो ।