हेटौंडा–५, पिप्ले क्षेत्रका आर्थिक अवस्था न्यून भएका महिलाहरुले व्यवसायिक रुपमा विक्रीवितरण गर्ने गरी काठको ठेकी बनाउन थालेका छन् ।
हेडम्बा डेभलोपमेन्ट एडभाइजर फाउण्डेसन हेटौंडाले हेटौंडा उपमहानगरपालिका रोजगार शाखाको सहयोगमा उनीहरुलाई ३० दिनको तालिम प्रदान गरेसँगै उनीहरुले ठेकी बनाउन थालेका हुन् ।
पिप्लेपोखरा समुदायिक वनको सभाहलमा २० जना महिलाहरुले मकवानपुरको चिनारीको रुपमा रहेको ठेकी बनाउन सुरु गरेसँगै अब हेटौंडामा व्यवसायिकरुपमा विक्रीवितरण समेत हुने भएको हो ।
उनीहरुको उत्पादन पिप्लेमै रहेको श्रमजीवी महिला काष्ठ हस्तकला ऊद्योगले विक्रीवितरण गर्नेछन् । यस संस्थाले लामो समयदेखि हस्तकलाको सामग्री निर्माण र वित्रीवितरण गर्दै आइरहेको छ ।
तालिममा सहभागी महिलाहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम तथा आयोजक संस्थाका अध्यक्ष अनन्त बानियाँले प्रमाणपत्र प्रदान गरेका छन् ।