२०८१ बैशाख २८, शुक्रबार    

फुटको संघारमा वस्तीपुर जेसीज हाँडीखोला

२०७८ माघ १४, शुक्रबार १६:०८ बजे

हेटौंडा/ वस्तीपुर जेसीज हाँडीखोला फुटको संघारमा पुगेको छ । विवादपश्चात् सन् २०११ सालमा वसामाडी जेसीजबाट फुटेर स्थापना भएको यस जेसीजमा पछिल्लो समयमा मानवीय संवेदनशीलतालाई विर्सिएर नयाँ नेतृत्व चयन गरेपछि विवाद बढिरहेको छ ।

वस्तीपुर जेसीजको सन् २०२२ का नेतृत्वको चुनावी कार्यक्रम अगाडि बढिरहेको अवस्थामा अध्यक्षका उम्मेदवार रहेको गणेश दर्पण अधिकारीको भाइको सवारी दुर्घटना भएको अवस्थामा जेसीजले नयाँ नेतृत्व घोषणा गरेको थियो ।

पुस १७ गते अध्यक्षका प्रत्याशी अधिकारी भाइको उपचारमा भरतपुर अस्पतालमा रहेको अवस्थामा तेजप्रसाद उप्रेती ‘रमेश’लाई संस्थाको अध्यक्ष घोषणा गरिएको थियो । उनलाई अध्यक्ष घोषणा गरेसँगै यस जेसीजमा विवाद बढेको हो । विवाद बढेसँगै केही जेसीज युवाहरुले कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
जेसीजले दुर्घटना भएर भाइको उपचारको क्रममा रहेका अध्यक्षका प्रत्याशीलाई बाइपास गरेर नयाँ नेतृत्व चयन गरेकोभन्दै संस्थाका पूर्वअध्यक्षहरु रुष्ट रहेका छन् । संस्थाका पूर्वअध्यक्षले यस कदमको विरुद्धमा पत्रकार सम्मेलन नै गरेका थिए । संस्थापक अध्यक्ष गणेश भेटवालले स्ट्याटस नै लेखेर नयाँ नेतृत्व चयन प्रक्रियाको विरोध गरेका थिए ।

संस्थामा छलफलविनै भोली शनिबार नयाँ नेतृत्वको पदस्थापना कार्यक्रम आयोजना गर्न लागिपछि विवादले अझै उग्ररुप लिने भएको छ । यसअघि जेसीज सचिवालय हेटौंडा–१९ मा हुँदै आएको पदस्थापन विवाद हुने डरले बजारमा गर्न लागिएको बुझिएको छ । विवादलाई मिलाउनका लागि संस्थाका पूर्वअध्यक्षहरुले कदम चालिरहेको समयमा निर्वाचित भएको २९ दिनपश्चात् पदस्थापन गर्न लागिएको भन्दै चातर्फीरुपमा विरोध भइरहेको छ । स्रोतका अनुसार संस्थाका पूर्वअध्यक्षहरु कार्यक्रममै सहभागी नहुने बताइरहेका छन् ।

हाल जेसीजमा अधिकारी पक्षधरले चुनावको माग गरिरहेका छन् भने उप्रेती समूहले आफू निर्वाचित भइसकेको दावी गरेको छ । यसै विवादकावीच मनहरी जेसीज खोल्ने तयारी भइरहेको अवस्थामा यस जेसीज फुट्ने लगभग निश्चित भएको स्रोतको दावी छ । ‘एउटा समूह गणेशतिर रहेको छ । अर्को समूह उप्रेतीतिर ।’, स्रोतले भन्यो,‘उप्रेती समूहमा मनोनित पदलाई लिएर विवाद कायमै छ । जसको कारणले जेसीजलाई क्षति हुनेदेखिन्छ ।’