२०८२ जेठ ३, शुक्रबार    

तमाङ समुदायबाट पहिलो मुख्यमन्त्री बन्दै बहादुरसिंह

२०८१ श्रावण ६, आईतबार १७:३५ बजे

नेपाल संघीयतामा गएको ७ वर्ष पूरा हुन लागिसकेको छ । बागमती प्रदेशले मात्रै हालसम्म ४ जना मुख्यमन्त्री पाइसक्दा नेपालबाटै करिब तीन दर्जन व्यक्ति मुख्यमन्त्री भैसकेका छन् ।

नेपाली कांग्रेसले पहिलो पटक वाग्मती प्रदेशमा मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्री बन्ने भएका छन्, बहादुरसिंह लामा । उनी तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री बन्न लागेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सर्वसम्मतरुपमा दलका नेता लामालाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिसकेको छ । अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा समेत दिइसकेकोले लामा मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

केन्द्रमा भएको सहमति अनुसार वाग्मतीको नेतृत्व कांग्रेसले पाउन लागेको हो । लामा २०७९ मंसिर ४ गते भएको आम निर्वाचनमा नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट सांसदमा निर्वाचित भएका थिए । २०४३ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका लामा हाल कांग्रेसको केन्द्रीय सदस्य रहेका छन् । उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका नेता पोष्टबहादुर बोगटीलाई हराउादै संविधान लेखनमा समेत महत्वपूर्ण भूमिका निर्वाहत गरेका थिए । निर्माण व्यवसायमा समेत आबद्ध लामा अन्य विभिन्न संघ संस्थामा आबद्ध छन् ।

उनले २०५४ सालमा गाविस अध्यक्षका रुपमा समेत काम गरेका थिए । तामाङ समुदायबाट प्रतिनिधित्व गर्दै बागमती प्रदेशको मुख्यमन्त्री बन्नेसम्मको अवस्थामा आइपुगेकोमा खुसी लागेको उनको भनाइ छ । ‘बागमती प्रदेश तामाङ समुदायको बाहुल्य क्षेत्र हो । यसअघि मन्त्रीहरु भएपनि मुख्यमन्त्री भने कोही पनि हुन पाएका थिएनन् । अब मैले त्यो अवसर पाउादैछु’, लामाले भने, ‘तामाङ सामुदाय मात्र नभई आम प्रदेशबासीको साझा भएर प्रदेशको विकास र समृद्धिका लागि काम गर्नेछु ।’

कांग्रेसले तामाङ समुदायका नेतालाई मुख्यमन्त्री बनाउने अवसर सृजना गरेको भन्दै तामाङ अगुवाहरुले खुसी व्यक्त गरेका छन् । बागमती प्रदेशलाई यसअघि ताम्सालिङ, नेवा प्रदेश हुनपर्ने माग हुँदै आएको भएपनि तामाङ सामुदायका नेतालाई मुख्यमन्त्री बनाउने अवस्था भने निर्माण गरेको थिएन ।