२०८२ बैशाख ११, बिहीबार    

एमालेबाट कसले पाए कुन मन्त्रालय ?

२०८१ श्रावण ८, मंगलबार १६:२० बजे

नेकपा एमालेले बागमती प्रदेशमा मन्त्रालयको टुंगो लगाएको छ । एमाले बागमती प्रदेश संसदीय दलले मंगलबार मन्त्रालयको टुंगो लगाएको हो । 

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

केन्द्रीय सत्ता समीकरण अनुसार बागमती प्रदेशमा पनि नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने भएका छन् । बागमतीमा कांग्रेसबाट ७ र एमालेबाट ६ जना मन्त्री बन्दैछन् । 

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस गरिसकेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।