२०८१ बैशाख ८, शनिबार    

मुख्यमन्त्रीका दाबेदार कांग्रेस नेता बानियाँ विजयी

२०७९ मंसिर ७, बुधबार १८:३० बजे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादु बानियाँ विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १६ हजार ९३४ मत प्राप्त गरेका छन् ।

विजयी बानियाँले कुल ४०५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका थिए । बानियाँ अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए । उनी कांग्रेसका वाग्मती प्रदेशसभा संसदीय दलका नेता समेत हुन् ।

अघिल्लो कार्यकालमा सत्तारुढ गठबन्धनभित्र लिखित सहमति भएपनि मुख्यमन्त्री बन्नबाट बञ्चित बनेका बानियाँ यसपटक यसपटक मुख्यमन्त्रीका दाबेदार हुन् । उनले चुनावी अभियानको क्रममा मुख्यमन्त्री बन्नका लागि आफू उम्मेदवार बनेको प्रतिक्रिया दिने गरेका थिए ।

सदनको अघिल्लो कार्यकालमा हेटौंडालाई प्रदेशको राजधानी घोषणा गर्न उनको भूमिका महत्वपूर्ण रहेको थियो ।