२०८० चैत्र १६, शुक्रबार    

एकलौटीरुपमा पराजितलाई मनोनित गरेपछि कांग्रेसमा विवाद

२०७८ चैत्र १०, बिहीबार १४:२५ बजे

संस्थापन पक्ष र पराजितलाई जिल्ला कार्यसमितिमा मनोनित गरेपछि नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको छ ।

बुधबार संस्थापन पक्षले एकलौटीरुपमा जिल्ला कार्यसमितिमा १० जना मनोनित गरेको थियो । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले पार्टीको विधानको धारा १२ (७) को ङ बमोजिम आफ्नो अधिकारलाई प्रयोग गर्दै १० जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।

जिल्ला सदस्यमा मनोनीत हुनेमा प्रभातकुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल बिक, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्याय, मोमलाल दोङ, भुवनलाल श्रेष्ठ, नुरोज पौडेल रहेका छन् । बानियाँ, विक, चौलागाईं र तिवारी सभापति लामाको प्यानलबाट उम्मेदवार बनेपनि अधिवेशनमा पराजित बनेका थिए । पार्टी सचिव भीमसेन महतले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै १० जनालाई जिल्ला सदस्यमा मनोनीत गरेको उल्लेख गरेका छन् ।

स्रोतका अनुसार संस्थापन इतर पक्षले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सभापति लामाले एकलौटीरुपमा मनोनित गरेकोभन्दै त्यसको खुलेर प्रतिबाद्ध गर्ने तयारी गरेको छ ।