मकवानपुर जिल्लाकै सर्वोत्कृष्ट विद्यालयकोरुपमा स्थापित भुटनदेवी र आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको एकीकरण प्रक्रिया अगाडि बढाइएको छ ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको दुवै विद्यालयलाई मर्ज गरी मेगा विद्यालयको रुपमा अगाडि बढाउन मर्ज गर्न लागिएको हो । हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्ने उद्देश्यले दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष, दुवै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले हेटौंडा नगर प्रमुख मीनाकुमारी लामालाई आवश्यक पत्र बुझाएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।
‘हेटौंडा पछिल्लो समय शैक्षिक हबको रुपमा विकास भइरहेको छ । अब भौतिक पूर्वाधारको निर्माण गरी दश हजार विद्यार्थीलाई सुविधासम्पन्न रुपमा अध्ययन गराउने उद्देश्यले मर्जर प्रक्रिया अगाडि बढाउन लागिएको हो ।’, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देलका अनुसार हाल दुवै विद्यालयमा गरी करिब ५ हजार विद्यार्थी अध्ययन गर्छन् । हाल दुवै विद्यालयमा गरी वार्षिकरुपमा भर्ना हुन चाहाने विद्यार्थीको संख्या दश हजारको हारहारीमा रहेको छ । वर्षेनी आन्तरिक परीक्षाबाट विद्यालयमा विद्यार्थी भर्ना गर्ने गरिएको छ ।
हेटौंडामा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या वर्षेनी बढ्दो अवस्था रहेको अध्यक्ष सिग्देलले बताए । उनका अनुसार दुवै विद्यालय मर्ज गरेपश्चात् भुटनदेवी माविको साधान र स्रोत पूर्णरुपमा सदुपयोग हुने र आधुनिकलाई आवश्यक स्रोतको समेत सहजै पूर्ति हुनेछ ।
‘हेटौंडा उपमहानरपालिकाले अब भौतिक पूर्वाधार निर्माण र दुवै विद्यालयको इतिहासलाई जोगाउने गरी कार्यपालिका बैठकबाट एउटा कार्यदल र कार्यविधि बनाउन जरुरी छ । त्यस कार्यदलको अध्ययन प्रतिवेदनपश्चात् संघ र प्रदेश सरकारले समेत आवश्यक लगानी यस विद्यालयमा गर्नुपर्छ ।’, उनले भने ।
दुवै विद्यालय मर्जपश्चात् खेलकुद मैदान, विज्ञान ल्याब, पुस्तकालय तथा अन्य भौतिक पूर्वाधार निर्माण हुने विश्वास वडा अध्यक्ष सिग्देलको छ ।