अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनले ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्मित स्वास्थ्य सामग्री भन्डारण भवन वाग्मती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
हेटौंडामा बिहीबार आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।
सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत निर्मित अत्यधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरेको हो । सरकारी स्वामित्वको ४७० वर्ग मिटर क्षेत्रफलमा उक्त भवन निर्माण गरिएको छ । अपांगता–मैत्री, सीसीटीभी क्यामरा निगरानी, फायर अलार्म प्रणालीयुक्त र चौबिसै घण्टा सौर्य उर्जा व्याकअप प्रणाली जडित भवन ३ महिनामा निर्माण सम्पन्न गरिएको हो ।
सेभ द चिल्ड्रेन नेपालका सञ्चार तथा मिडिया निर्देशक आयुष श्रेष्ठ जोशीका अनुसार २०८० चैत ४ गतेवाट निर्माण सुरु गरिएको उक्त भवनको निर्माण ३ महिनामा सकिएको थियो । हाइटेक डेभलपर्स भरतपुरले ठेक्का सम्झौता गरेको ३ महिना (२०८१ असार) मा नै निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले नागरिकहरुको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने चुनौती रहेको बताए ।
नागरिकको आवश्यकताका आधारमा तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउन गम्भीर हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । उक्त कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताइन् ।
सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरुप उक्त भवन निर्माण गरिएको उनको भनाइ थियो । आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा भवनले सहयोग पुर्याउने उनको अपेक्षा छ ।