२०८१ बैशाख १२, बुधबार    

पार्टी फुटलाई नजरअन्दाज गर्दा हेटौंडामा हल्लियो ‘लालकिल्ला’

२०७९ जेठ ३, मंगलबार २३:५० बजे

हेटौंडा उपमहानगरपालिकाको मत परिणाम अहिले देशैभरका लागि चर्चाको विषय बनिरहेको छ । कारण हो, अनपेक्षित मत परिणाम । राजनीतिक वृत्तमा हेटौंडालाई नेकपा एमालेको ‘लाल किल्ला’को रुपमा परिभाषित गरिन्छ । तर, यसपटक त्यसो भइरहेको छैन । मत गणना सुरु भएदेखि एमाले तेस्रो स्थानमा छ । हेटौंडामा राप्रपा र नेकपा (एस) निरन्तर अघिपछि भइरहेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेबाट हरिबहादुर महत निर्वाचित भएका थिए । अहिले हेटौंडामा सत्तारुढ गठबन्धन एउटा कित्तामा रहेका छन् । राप्रपा एक्लै छ । एमालेलाई राप्रपा नेपालको साथ छ । हेटौंडा राप्रपा नेपाल कमल थापाको गृह जिल्ला पनि हो । यस्तो अवस्थामा पनि वाग्मती प्रदेशकै एकमात्र उपमहानगरमा एमाले प्रतिस्पर्धामा नै उत्रिन नसक्नु हेटौंडाको लागि मात्रै होइन देशकै लागि अनपेक्षित विषय हो ।

नेकपा एमालेबाट उम्मेदवार बनेको अनन्त पौडेल लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी पहिलो र दोस्रो संविधानसभामा समेत उम्मेदवार भएका थिए । दोस्रो संविधानसभामा हाल राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई पराजित गर्दै एमालेबाट पौडेल निर्वाचित भएका थिए । पौडेल हेटौंडामा प्रतिस्पर्धामै उक्लिन नसकिरहेको अवस्थामा एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टिहरु पोखिरहेका छन् । उनीहरुले कार्यकर्ताको मनोभावना बेवास्ता गर्दै पार्टी नेतृत्व एकलौटीरुपमा अगाडि बढ्न खोज्दा यस्तो परिणाम देखिएको बताइरहेका छन् ।

हाल एमालेको गढको रुपमा रहेको हेटौंडा–४ र ५ मा एमाले पछाडि परिसकेको छ । अब एमालेले कुन वडाबाट ‘कमब्याक’ गर्छ भनेर उनीहरुकै नेताले दाबी गर्न नसक्ने अवस्था छ । विशेषगरी टिकट वितरण र पार्टी फुटको असरलाई नजरअन्दाज गर्दा हालको अवस्था सिर्जना भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपा एमाले विभाजन भयो । उक्त समयमा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र केन्द्रीय नेता विरोध खतिवडा नेकपा (एस) तर्फ लागे । हेटौंडाकी उपमेयर पनि नेकपा (एस) मै लागिन । उनी अहिले गठबन्धनबाट मेयरकी उम्मेदवार छिन् । तिनै लामा अहिले एमालेको लागि टाउको दुखाई बनिरहेकी छिन् ।

लामालाई टिकट दिलाउन सक्रिय भूमिका खेलेका संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले सक्रिय भूमिका खेलेका थिए । खतिवडाको प्रभाव, कांग्रेस र माओवादीका साथका कारण पनि सत्तारुढ गठबन्धनको अवस्था हेटौंडामा एमालेको तुलनामा केही बलियो देखिएको छ ।

२०७४ को निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वडा जितेको थियो । अहिले अवस्था नियाल्दा अघिल्लो निर्वाचनकै अवस्थामा एमाले फर्किने संकेत देखिँदैन । उम्मेदवारी दर्ता गरेसँगै हेटौंडामा आफूले सहजरुपमा राम्रो मतसहित विजयी हुने दाबी पौडेलको थियो । गठबन्धनलाई आफ्नो प्रतिस्पर्धी नै नमान्ने बताउँदै आएका पौडेल उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेको मतान्तर हेर्दा उनले उपमेयरको तुलनामा एकहजार मत कम पाएका छन् । यद्यपी काफ्ले गठबन्धनभन्दा करिब ४ हजार मतान्तरले पछि नै छिन् ।

नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीको आन्तरिक कारण नभएर गठबन्धनका कारण यस्तो अवस्था आएको दाबी गर्छन् । चुनावको मिति घोषणा हुँदा उनै श्रेष्ठले पार्टी फुटको असर नपर्ने पटकपटक दाबी गर्दै आएका थिए ।

हेटौंडामा राप्रपाको पनि पुरानो जनमत भएको स्थान हो । कुनै समय राप्रपा दोस्रो दलको रुपमा यहाँ रहेको थियो । राप्रपाका उम्मेदवार सिंह तेस्रो पटक चुनावी मैदानमा छन् । जसका कारण पनि उनले ‘पपुलर मत’ प्राप्त गर्नुलाई अस्वभाविक मान्न सकिँदैन ।

जारी मतगणना हेर्दा एमालेका कार्यकर्ताले पनि अन्य चिह्नमा मतदान गरेको देखिन्छ । उनीहरुले बढी राप्रपालाई मतदान गरेको देखिन्छ । जारी मतगणना भइरहेको वडामा एमालेले अग्रता नलिएको खण्डमा पहिलो पटक हेटौंडामा एमालेको हातबाट नफुत्किएला भन्ने सकिन्न ।