२०८१ बैशाख १४, शुक्रबार    

सिमलटारका हाइटेन्सन पीडितद्वारा क्षतिपूर्ति माग

२०७९ मंसिर २३, शुक्रबार २०:३८ बजे

हेटौंडा—११, सिमलटारबासीले क्षतिपूर्तिको माग राख्दै नेपाल विद्युत् प्राधिकरण, लाइन विस्तार परियोजना थानाभ¥याङमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले स्थानीय बस्तीमाझबाट हेटौंडा–ढल्केबर–दुहबी ४ सय केभी प्रसारणलाइन बिस्तार गर्न लागेकोले उचित क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । उक्त हाइटेन्सनलाइन बिस्तारले सिमलटार बस्तीमा करिब ३ सय घरधुरीलाई प्रत्यक्ष असर पर्ने नेपाल बसोबास संरक्षण समाज मकवानपुरका कमलचन्द्र सुमनले बताए ।

हाइटेन्सन लाइनपीडितसँग संवाद नै नगरी विद्युत् प्राधिकरणले सूचना प्रकाशन गरेकोमा सुशासनको मूलमर्म र भावनामाथि कुठाराघात भएको ज्ञापनपत्रमा जनाइएको छ । कार्यालय प्रमुख गजेन्द्रकुमार चौहानलाई बुझाइएको ज्ञापनपत्रमा हाइटेन्सन लाइनको वैकल्पिक व्यवस्थाका रुपमा राप्तीनदी किनार हुँदै लाइन बिस्तार गर्न सुझाव दिइएको छ ।

ज्ञापनपत्रमार्फत् जिल्ला प्रशासन कार्यालय, भूमि आयोग र सबै राजनीतिक दललाई समेत ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्र बुझ्दै लाइन विस्तार परियोजना मकवानपर प्रमुख चौहानले उचित क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिए ।