मकवानपुर प्रहरीले जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित राक्सिराङ गाउँपालिका–५, ठूलो खोल्साबाट अवैध लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा राक्सिराङ–८ का २१ वर्षीय अशोकलाल मोक्तान, ३१ वर्षीय दीपक मोक्तान र ३५ वर्षीय बुद्धिलाल मोक्तान रहेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
शुक्रबार राति ८ बजेको समयमा प्रहरी निरीक्षकसहितको गस्ती टोलीले पैदल हिँडिरहेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा भेटिएको झोलामा लागूऔषध गाँजा फेला पारेको हो ।
प्रहरीले झोलाबाट ८ किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजासहित तीन नै जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ । यस क्षेत्रमा बढी गाँजा खेती हुने गरेको छ ।