मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्साको जिरा भवानी गाउँपालिका ५ बस्ने २५ वर्षका चन्दन चौधरी रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले १० किलो ९२० ग्राम गाँजासहित पक्रेको हो । प्रहरी टोली पैदल गस्ती गर्दै जाने क्रममा मनहरी गाउँपालिका ७ प्याङ्चेस्थित भित्री सडकखण्डबाट पक्रेको हो । झोला बोकेर राक्सिराङ गाउँपालिकाबाट मनहरीतर्फ आउँदै गरेका उनलाई शंकाको आधारमा खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
झोलाभित्र लुकाएर ल्याएको अवस्थाको गाँजासहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । चौधरीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । मकवानपुरको राक्सिराङ गाँजा तथा अफिम खेतीको लागि प्रख्यात छ ।