मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्कि पुल जेठ २६ गते उद्घाटन गरिने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो ।
पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्रबहादुर बानियाँ आउने तय भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७÷०७८ मा आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो ।
हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन अध्यक्ष कालाखेतीको भनाई छ ।
साथै अन्य दुई वटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उनको भनाई छ । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको भन्दै अध्यक्ष कालाखेतीले मंसिरसम्ममा निर्माण सम्पन्न हुने बताए ।