स्थानीय तहको निर्वाचनमा दलको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकाहरु मत्थर देखिएका छन् । कतै भने स्वतन्त्र उम्मेदवारले मत माग्न थालेका छन् । जिल्ला तहबाट स्वतन्त्र उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन दबाब बढेपछि केही मौन देखिएका हुन् ।
गठबन्धनको भागबण्डा अनुसार आंकाक्षीले दलको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्नेहरु उम्मेदवारी दर्ता गर्दा जितको सुनिश्चितता गर्दै सक्रिय देखिएपनि अहिले उनीहरुको अवस्था मत्थर छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छन् । मकवानपुरका सबै स्थानीय तहमा यिनै चार दलबीच तालमेल भएको छ । तर, दलको टिकट नपाएको भन्दै काँग्रेसका आँकाक्षीहरुले स्वतन्त्र र नेपाली काँग्रेस (बीपी)को तर्फबाट बागी उम्मेदवारी दिएका छन् ।
बागी उम्मेदवारी दिनेहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिने दाबी गरिरहेका छन् । उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका उनीहरुले अझै सम्पर्क कार्यालय, प्रचारप्रसार सुरु गरेका छैनन् । मनहरी गाउँपालिकामा काँग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस (बीपी) पार्टीको तर्फबाट उम्मेदवारी
दिएका हुन् । उनीसँगै सोही दलबाट काँग्रेस नेतृ जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । करुवा चुनाव चिन्ह रहेको काँग्रेस (बीपी)बाट उम्मेदवारी दिएका न्यौपाने र लामाले चुनावी प्रचारप्रसार अघि बढाएका छैनन् ।
मनहरीमा काँग्रेसबाट रञ्जन कालाखेती आधिकारी उम्मेदवार बनेका छन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनैपनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेपछि त्यहाँ काँग्रेसको उम्मेदवार नै छैन । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिका अध्यक्षमा पनि काँग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलन उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।
बागमती गाउँपालिकामा बागी उम्मेदवार बनेका पराजुली र लामाले आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी गरिरहेका छन् । ‘हामी अघि बढिसकेका छौं, हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । गठबन्धनको उम्मेदवार भन्दा बढी मत ल्याउँछौं ।’ पराजुलीले भने । हेटौंडा उपमहानगरपालिका–२ मा सुदीप राजबहाक र हेटौंडा–९ अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
हेटौंडा–२ को वडा अध्यक्षमा बागी उम्मेदवार बनेका राजबहाकले आफ्नो उम्मेदवारी कायम रहने बताए । उनले आफु यसअघि काँग्रेसबाट वडा सदस्यमा जित्ने एक्लो उम्मेदवार भएको कारणले पनि यसपटक अध्यक्षको टिकट पाउनुपर्ने दाबी गरिरहेका थिए । तर, उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका हुन् । उनले सामाजिक सञ्जाल र टोलमा आफ्नो प्रचारप्रसार अघि बढाइसकेका छन् ।