प्रदेश सरकारले राजस्व संकलनको दर र खर्च गर्ने क्षमतालाई पूर्णरूपमा बेवास्ता गर्दै आगामी आर्थिक वर्ष २०७९/८० का लागि ठूलो आकारको बजेट ल्याएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
जुन चालु आर्थिक वर्षकोभन्दा २२ दशमलव ९० प्रतिशत अर्थात करिब १३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।
प्रदेश सरकारले चालु खर्चतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तिय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चित कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्मकट्टेलले बताए ।
सरकारले चालु आवमा कुल विनियोजनको ८० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान गरेको छ । यसवर्ष राजस्व लक्ष्यको तुलनामा ९३ प्रतिशत मात्र संकलन हुने अनुमान गरिएको छ । विनियोजित बजेट खर्च नगर्ने र सञ्चित कोषको रकमलाई देखाउँदै बजेटको आकार बढाउने परम्परालाई वर्तमान सरकारले पनि यसवर्ष निरन्तरता दिएको हो । मन्त्रालय विभाजन गरिएको र नजिकिँदै गरेको चुनावका कारण बजेटमा धेरै योजना समावेश गर्नुपरेकाले आकार बढेको मन्त्रीहरूले बताएका छन् ।