२०८३ बैशाख १५, मंगलबार    

बकैया गाउँपालिकाको कार्यालयमा ताला, अध्यक्ष लामिछाने भन्छन्ः राजनीति हावी भयो

२०८१ श्रावण ३२, शुक्रबार १६:३१ बजे

मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

कर्मचारी सरुवा तथा बढुवाको विषयलाई लिएर शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकै नेतृत्वमा तालाबन्दी भएको हो । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले चित्त बुझ्ने गरी काम नगरेकोले ताला लगाइएको उपाध्यक्ष खत्रीले बताएका छन् । उनले अध्यक्ष लामिछानेले विवादास्पद निर्णय गरेको समेत आरोप लगाए ।

यस विषयमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले भने आफुले सफा भावनाका साथ काम गरिरहेको बताएका छन् । उनले राजनीतिक स्वार्थबाट प्रेरित भई तालाबन्दी गर्ने कार्य भएको बताए ।

बकैया गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी छैठौँ तहका फटिकरमण प्याकुरेलले सम्हाल्दै आएका थिए । तर, प्याकुरेललाई दुई वटा शाखाको जिम्मेवारी रहेको भन्दै गाउँपालिकाले छैठौँ तहकै रमेश फुयाँललाई स्वास्थ्य शाखाको जिम्मेवारी प्रदान गर्ने तयारी गरेको थियो ।

उपाध्यक्ष खत्रीले भने फुयाँललाई स्वास्थ्य शाखाको जिम्मेवारी दिन नहुने मत राख्दै आएका थिए ।

अध्यक्ष लामिछाने नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष खत्री नेकपा माओवादीको तर्फबाट निर्वाचित भएका हुन् ।