२०८३ बैशाख १२, शनिबार    

राष्ट्रिय भेट्रान्स फुटबल सुरु, चितवन विजयी

२०८१ भाद्र २४, सोमबार १९:५९ बजे

तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा साविक विजेता चितवन भेट्रान्सले विजय यात्रा सुरु गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउादै चितवनले विजयी भएको हो । निर्धारित समयको खेल एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा नागस्वती भेट्रान्सले नै सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

नेपालका १५ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले सबै खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताइन् ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगीताका लागि करिब १६ लाख रुपैयाँ खर्च हुने आयोजक बताएको छ । यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लवले जितेको थियो ।