दोस्रो संस्करणको ‘हेटौंडा रन–२०८१’ को उपाधि हेटौंडा–१४ का धावक सञ्जिव मिजारले जितेका छन् ।
उनले निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् ।
हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा–१५ का धावक निश्चल तितुङ दोस्रो भए । उनले २० मिनेट ४२ सेकेण्डमा दुरी पूरा गरे । निर्धारित दुरी २० मिनेट ५१ सेकेण्डमा पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तेस्रो भए । हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौहुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कारबाट सम्मानित भए ।
दौडको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गरे । प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई आयोजक खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोहमा खेलकुद विकास समिति सदस्यहरु विनोद राय, विजय गौतम, सुनिल लोप्चन तथा निमित्त शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटालगायतको उपस्थिति रहेको थियो ।
दौडमा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा–१०, बुद्धचोकबाट आफ्नो दौड यात्रा सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा आएर आफू दौड पूरा गरेका थिए ।
यसवर्ष दौडलाई प्रतिस्पर्धात्मक बनाउनेभन्दा पनि खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार आगामी वर्ष यस प्रतियोगितालाई फरक शैलीबाट आयोजना गरिने समेत बताए ।