२०८३ बैशाख १०, बिहीबार    

हाँडीखोलामा जेसीज कप खुला फुटबल प्रतियोगिता हुने

२०८१ कार्तिक ५, सोमबार १७:२४ बजे

मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशील चैनपुर जेसीज मनहरीको आयोजनामा खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

यही कात्तिक २३ गतेबाट मनहरी ४ स्थित गोलघर खेल मैदानमा दोस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको आयोजना हुन लागेको हो । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको जेसीजका अध्यक्ष रविन ढकालले जानकारी दिए । प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले यही कात्तिक २० गतेसम्म टिम दर्ता गराउन सक्ने बताइएको छ । टिम दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । ‘यस चैनपुर जेसीज मनहरीले स्थापनाकाल अर्थात् अघिल्लो वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो ।

फुटबल खेलको विकास एवम् युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिँदै गएका छौं’, अध्यक्ष ढकालले भने, ‘प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहभागी हुन चाहने टिम तथा खेलाडीलाई तयारी अवस्थामा रहन अनुरोध गर्दछौं ।’ प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव श्रीकृष्ण ढकालले बताए ।

प्रतियोगिताको लागि मनहरी गाउँपालिकाको ४ नम्बर वडाले मुख्य प्रायोजन गर्ने भएको छ । अन्य विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोगका लागि समन्वय भैरहेको उनले बताए । प्रतियोगिताको संयोजक कार्यकारिणी उपाध्यक्ष महेश खुलाल रहेका छन् भने सहसंयोजकमा उपाध्यक्ष उज्वल विष्ट र खेलकुद संयोजक प्रदीप थापा रहेका
छन् ।

अघिल्लो वर्ष भएको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको थियो । पहिलो संस्करणको पुरस्कार राशी विजेतालाई ५० हजार ५५५ रुपैयाँ र उपविजेतालाई २५ हजार ५२५ रुपैयाँ रहेको थियो ।