२०८३ बैशाख १०, बिहीबार    

यस वर्ष मकवानपुर गोल्डकप नहुने, अझै सार्वजनिक भएन यसअघिकै हिसाबकिताब

२०८१ चैत्र १४, बिहीबार १०:४४ बजे

जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गर्दै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष नहुने भएको छ । प्रायः सबै जिल्लाका गोल्डकप सम्पन्न भैसक्दा मकवानपुर गोल्डकप भने यस वर्ष नहुने पक्कापक्की भएको हो ।

यो वर्षको अन्तिम गोल्डकपका रूपमा अहिले रुपन्देहीमा तिलोत्तमा गोल्डकप सञ्चालन भइरहेको छ । त्यसपछि यही १६ गतेबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सुरु हुनेछ । करिब एक महिना एनएसएल चल्ने भएकोले त्यो समयमा गोल्डकप गर्न सम्भावना छैन ।

कतैबाट ठूलै रकमको आर्थिक जोहो गर्न सकिन्छ कि भनेर आन्तरिक रूपमा लागिपरेका फुटबल संघका पदाधिकारीले अहिलेसम्म स्रोतको फेला पार्न सकेको छैन । गोल्डकपको कुनै तयारीसमेत नभएकोले यसवर्ष प्रतियोगिता नहुने करिब पक्कापक्की जस्तै रहेको छ । यस वर्ष प्रतियोगिता नहुने पक्का रहेको फुटबल संघका एक पदाधिकारीले बताए । छैटौं संस्करणको मकवानपुर गोल्डकप सम्पन्न भएको करिब १४ महिना हुन लाग्दा आयोजकले अहिलेसम्म उक्त प्रतियोगिताको हरहिसाब समेत सार्वजनिक गर्न सकेको छैन । गोल्डकपको तिरोतारो अझै बाँकी रहेको पाइएको छ ।

गत वर्ष माघ २७ गते छैटौं संस्करणको गोल्डकप सम्पन्न गरेको थियो । ‘अघिल्लो वर्षकै पैसा तिर्न बाँकी छ । अहिलेसम्म कतै गतिलो स्रोत भेटिएको छैन । गोल्डकप नहुने पक्कापक्की जस्तै छ,’ ती पदाधिकारीले भने । संघका जिल्ला अध्यक्ष टीकाराम लामा, उपाध्यक्ष युवराज लामा र कोषाध्यक्ष अमृत लुङ्बालगायतका पदाधिकारी प्रतियोगिताको नामै परिवर्तन गरेर भए पनि गोल्डकपलाई निरन्तरता दिने उद्देश्यसहित सम्भावित स्रोत खोज्न लागिपरेका थिए ।

यद्यपि संघका अध्यक्ष लामाले एनएसएलपछि गोल्डकप हुनसक्ने बताउँदै आएका छन् । सुरुवाती वर्षमा मकवानपुरका स्थानीय तहले यस प्रतियोगिताका लागि २ देखि ५ लाख रुपैयाँसम्म बजेट छुट्याउने गरेको भए पनि पछि ‘उपलब्धिविहीन’ भन्दै बजेट कटौती गर्दै गएका थिए । अघिल्लो वर्षको गोल्डकपका लागि हेटौंडा उपमहानगरबाहेक अन्य स्थानीय तहले खासै बजेट उपलब्ध गराएनन् ।

अघिल्लो गोल्डकपको हिसाबसमेत सार्वजनिक गर्न नसकेको भन्दै फुटबल संघकै पदाधिकारी असन्तुष्ट हुँदै आएका छन् । छैटौं संस्करणको मकवानपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको थियो ।