२०८३ बैशाख १०, बिहीबार    

चैनपुर जेसीज मनहरी कप फुटबल मकवानपुरगढी जेसीज फाइनलमा

२०८१ कार्तिक ३०, शुक्रबार १७:४७ बजे

पदमपोखरीको एफसी नमोबुद्धलाई स्तब्ध पार्दै मकवानपुरगढी जेसीज दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा जेसीजले नमोबुद्धलाई २-१ गोलले हराएको हो । खेलमा जेसीजले नै सुरुवाती अग्रता लिएको थियो । २५ औं मिनेटमा सुसस थापाको गोलमार्फत जेसीजले अग्रता लिएको थियो । कर्नरबाट आएको बललाई उनले हेडमार्फत गोल गरेका थिए । नमोबुद्धका युवराज खड्काले ६१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । अतिरिक्त समयमा रोशन पहरीले जेसीजका लागि निर्णायक गोल गरेका हुन् ।

खेलको म्यान अफ द म्याच मकवानपुरगढी जेसीजका डिफेन्डर कुलदिप कार्की घोषित भए । जारी प्रतियोगितामा शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल प्रवेशका लागि मनहरी ५ र परेली क्लव हेटौंडा १९ भिड्नेछन् । यहि मंसिर ३ गतेसम्म सन्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँचसय तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

चैनपुर जेसीज मनहरीको आयोजना एवम् मनहरी गाउँपालिका ४ नम्बर वडाको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितालाई मनहरी गाउँपालिकासहित अन्य विभिन्न संघसंस्थाको सहयोग रहेको छ ।