२०८३ बैशाख १०, बिहीबार    

राज्यले उचित सम्बोधन नगर्दा खेलाडी पलायन बढ्दो छः मन्त्री महर्जन

२०८१ आश्विन ३, बिहीबार १८:२९ बजे

बामगती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुद क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताएका छन् । उनले खेल क्षेत्र र खेलाडीहरुले नै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने भएपनि राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउन नसकेको बताए ।

बागमती प्रदेश सरकारले आयोजना गरेको खेलाडी सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले खेलाडीहरुको उच्च सम्मानमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । राज्यले खेल क्षेत्रलाई उचित सम्बोधन नगर्दा खेलाडी विदेश पलायन हुने अवस्था बढिरहेको उनको भनाई छ ।

‘ऐतिहासिक पदक विजेता खेलाडी सविता राजभण्डारी नै नेपाल बस्नुहुन्न । दिपक विष्ट जस्ता खेलाडी कुन दिन विदेश हिड्ने हो टुंगो छैन । दक्षिण एसियाकै पहिलो रेकर्डका रुपमा ८ औं, ९ औं, १० औं संस्करणको साफ गेममा स्वर्ण पदक विजेता खेलाडी हामी माझ छन् । तर, भविष्य निर्माणका लागि विदेश पलायन हुने भन्ने ठेगान छैन ।’ उनले भने ।

बागमती प्रदेश सरकारले कार्यविधी नै तयार गरेर खेलाडीहरुलाई सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने योजना रहेको मन्त्री महर्जनले बताए । खेलाडीहरुले खेलेर नै जीविकोपार्जन गर्ने र भविष्य उज्ज्वल गर्ने प्रदेश सरकारको ध्यय रहेको उनले बताए ।

उनका अनुसार युवा तथा खेलकुद मन्त्रालयबाट कार्यविधी नै तयार पारेर खेलाडी प्रत्साहन स्वरुप विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको नतिजा र पदक अनुसार पुरस्कृत गर्ने योजना बनाएको छ । बागमतीको खेलाडीहरुको भविष्य उज्जवल पार्न र अन्य प्रदेशलाई पनि सिकाउने उद्देश्य अनुसार नीतिगत र कानुनी रुपमा नै पदक विजेता खेलाडीलाई निश्चित रकम तोकेर पुरस्कृत गर्ने योजना रहेको उनको भनाई छ ।

‘बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने खलाडी पलेशाले देशका लागि पारा ओलम्पीकमा एतिहासिक काश्य पदक ल्याएकी छिन् । यो बागमती प्रदेशको लागि महत्वपूर्ण क्षण हो । एरिका गुरुङले २५ वर्ष पछि एशियन गेम अन्तर्गत कराँतेमा रजत पदक प्राप्त गरेकी थिइन् । देश चलाउने नेताहरुलाई पदक विजेता खेलाडी पलेशालाई सम्मान गर्न भ्याइनभ्याइ छ । राष्ट्रिपति देखि प्रधानमन्त्री र ठुला प्रतिष्ठित नेताहरुले उहाँलाई सम्मान गरिरहेका छन् । यो नै खेलकुदको प्रतिष्ठा हो ।’ मन्त्री महर्जनले भने ।