२०८३ बैशाख १०, बिहीबार    

मेयर कपमा ३ र ९ नम्बर दोस्रो चरणमा

२०८२ जेठ ५, आईतबार १९:५८ बजे

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हेटौंडाको ३ र ९ नम्बर वडा विजयी भएको छ ।

पहिलो खेलमा ३ ले १३ नम्बर वडालाई ३–१ गोलले हराएको हो । ३ का लागि विजय दोङ, निरभ घलान र निराजन मगरले गोल गरेका थिए । वडा नम्बर १३ का विकेश थिङले एक गोल फर्काएपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । यस्तै आइतबार भएको दोस्रो खेलमा हेटौंडा १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउँदै ९ नम्बरले दोस्रो चरणमा स्थान बनाएको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो ।

टाइब्रेकरमा ९ ले १६ लाई ४–२ गोल अन्तरले हरायो । जारी प्रतियोगितामा सोमबार पनि २ खेल हुनेछ । पहिलो खेल वडा नम्बर १ र १४ को बीचमा हुँदा दोस्रो खेलमा १० र १९ नम्बर खेल्नेछन् । यही १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहेको छ । मेयर कपको विजेताले २ लाख ५० हजार तथा उपविजेताले २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र प्रशिक्षकले समान जनही नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । खेलको माध्यमबाट खेलाडी र वडाको बीचमा सहकार्यको भावना विकास गराउनुका साथै खेल क्षेत्रको विकासका निम्ति नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्दै आएको हो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । यस प्रतियोगिताका लागि उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।