हेटौंडा–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । गुड्दा गुड्दै सडक भासिएपछि बोलेरो भ्यानका चालक र सहचालक निस्किएर ज्यान जोगाएका थिए ।
गाडी भने जमिनमुनी भासिएको थियो । आइतबार उक्त घटनाका बारेमा हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ समेतको उपस्थितीमा समितिको बैठक बसेको हो । बैठकले भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बताइन् । उक्त क्षेत्रमा अहिले आउजाउ बन्द गर्ने निर्णय समेत विपद् समितिले गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार एक्कासी सडक भासिँदा बोलेर बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
गाडी भासिएको ठाउँ नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । शनिबार दिनभर पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य गरिएको थियो । तर गाडी फेला पार्न सकिएन प्रवक्ता अर्यालले भने ।
‘शनिबार दिनभर गाडी खोजेका हौं । आइतबार विपद् व्यवस्थापन समितिको बैठकले विज्ञको टोली ल्याउने निर्णय गरेको छ । आइतबार भने गाडी खोजेका छैनौं’, मकवानपुर प्रहरी प्रवक्ता अर्यालले भने, ‘गाडी भासिएको ठाउँलाई सुरक्षित राखेका छौं । अब विज्ञको टोली आएपछि पुनः खोजबीन कार्य सुरु हुनेछ ।