२०८३ बैशाख ८, मंगलबार    

युवालाई प्रोत्साहन गर्न खोज्दा मेयर लामा विवादमा

२०८२ बैशाख ४, बिहीबार १७:१५ बजे

युवाहरुले सञ्चालन गरेको व्यवसायलाई प्रवर्द्धन गर्न खोज्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा विवादमा तानिएकी छन् ।

हेटौंडा–४, हुप्रचौर नजिकै स्नातक तहमा अध्ययन गर्ने नौ जना युवाहरुले सञ्चालनमा ल्याएको ‘द नाइन्टिन सैलुन’का सञ्चालक सुशन घलानले एक थान एसी र एक थान इन्भर्टरको माग गर्दै उपमहानगरमा दिएको निवेदनमा तोकआदेश लगाउँदा मेयर लामाको समाजिक सञ्जालमा आलोचना भएको हो ।

वैशाख ३ गतेबाट युवाहरुले स्वरोजगार बन्दै र तालिम केन्द्रको रुपमा विकास गर्ने गरी सञ्चालनमा ल्याएको सैलुनको मेयर लामाले उद्घाटन गरेकी थिइन् । उनले सैलुनको उद्घाटनका क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

‘मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक पढ्ने नौ जना युवाहरुले सैलुन खोलेपछि मलाई उद्घाटनका लागि बोलाए । मैले गएर उद्घाटन गरेँ । युवाहरुले आफू स्वरोजगार बन्दै अन्य युवालाई पनि निःशुल्क तालिम दिने योजना बनाएका रहेछन् । मैले त्यसपछि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुँ,’ उनले भनिन् । उनीहरुले एसी र इन्भर्टर मागेपछि आफूले उपमहानगरअन्तर्गत्‌को जिन्सी शाखालाई तोकआदेश दिएको र लागत निर्धारण गर्न अनुरोध गरेको बताइन् । ‘मैले मात्र चाहेर सहयोग गर्न सक्दिनँ । लागत तयार भएपछि कार्यपालिकाको बैठकबाट निर्णय गरेर मात्र दिइने हो । सहयोग गर्न पनि सबै प्रक्रिया र चरण पूरा हुनुपर्छ,’ उनले भनिन्,‘युवाहरु स्वरोजगार भएको स्थानमा हामीले सहयोग गर्नु स्वाभाविक हो । उपमहानगरले कृषकहरुलाई ट्र्याक्टरलगायत विभिन्न उपकरण सहयोग गर्दै आइरहेको छ ।’

उनले आफूलाई मेयर भएदेखि नै खेदिरहेको समूहबाट प्रहार भएको बताइन् । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने विषय व्यवसाय प्रवर्द्धनको नीतिअनुरूप भएको बताए । ‘मेयरलाई उपमहानगरपालिकालाई व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्ने अधिकार रहेकाले सोहीअनुसार प्रक्रिया अघि बढाइएको हो । अधिकार क्षेत्रभित्रै रहेर मागमा आधारित सामग्री दिने प्रक्रिया अगाडि बढाइएको हो ।’

प्रवक्ता न्यौपानेका अनुसार दिने–नदिने टुंगिन बाँकी रहेको छ । ‘मेयरलाई आर्थिक सहयोगको अधिकार २५ हजार रुपैयाँसम्म रहेको छ । जिन्सी सहयोगको विषय आर्थिक खरिद आदेशले निर्धारण गरेअनुसारको प्रक्रियाबाट निर्धारण हुनेछ,’ उनले भने ।