२०८३ बैशाख ११, शुक्रबार    

हेटौंडामा शनिबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता

२०८२ असार ६, शुक्रबार १८:१६ बजे

नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा शनिबारबाट हेटौंडामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ ।

नेकोस कपको नाममा हुन लागेको महिला भलिबलको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

हेटौंडा-४ हुप्रचौरस्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डाइमण्ड यूथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ वटा टोलीको सहभागिता रहने आयोजक नेपाल स्पोर्ट सेन्टरका अध्यक्ष अनिलकुमार रिजालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुनेले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ ।

विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने उनले बताए । ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ ।

‘प्रत्येक वर्ष आयोजना गर्ने गरी सुरु गरिएको यस नेकोस खेलकुद प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने योजना रहेको छ,’ अध्यक्ष रिजालले भने, ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । महिला भलिबल प्रतियोगिता शनिबार दिउँसो ३ बजे हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गर्नुहुनेछ ।’

हेटौंडामा राष्ट्रिय महिला भलिबलसँगै स्केटबोर्ड प्रतियोगितासमेत हुने भएको छ । स्केटबोर्ड प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दुवै प्रतियोगिताको लागि करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको प्रतियोगिताको प्रचार संयोजक सफल अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।-