२०८३ बैशाख १०, बिहीबार    

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र सिन्दिरा अपराजित

२०८१ माघ १८, शुक्रबार १९:१५ बजे

राष्ट्रिय बुद्धचाल प्रतियोगितामा पुरुषतर्फ पूर्वनेपाल च्याम्पियन रुपेश जैसवाल र महिलातर्फ वर्तमान नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा रहेका छन् ।

२५ औं राष्ट्रिय पुरुष तथा १० औं महिला बुद्धिचाल प्रतिस्पर्धा छनौट भएका शीर्ष २४ खेलाडीबीच जारी ११ चरणको राउण्ड रोविन खेलमा शुक्रबार नौ चरणको खेलसम्म पुग्दा रौतहटका रुपेश जैसवाल र काठमाडौंकी सिन्दिरा जोशी दुबैले आ आफ्नो विधामा समान ७.५ अंक बनाएर अग्रताकायम गर्ने क्रममा समान ६ जीत ३ बराबर खेल खेलेका छन् ।

अर्कोपटक २६ औं राष्ट्रिय प्रतियोगितामा सिधा प्रवेश गर्ने बाटो भनेको शीर्ष ३ मा रहनु हो । शीर्ष ३ को होडमा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त दोस्रो स्थानमा उभिएका छन् । काजकिस्तानमा हुने चेस ओलम्पियाडमा समेत सहभागी हुन कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंक सहित चौथो स्थानमा, झापाका शुश्रुत दहाल र दोलखाका आशिष फूँयाल समान ५.५ अंक जोडेर संयुक्त पाँचौ स्थानमा रहेका छन्।

महिला विधातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौंका एञ्जल महर्जनले ७ अंक बनाएर दोस्रो स्थानमा र मोरङका शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन् । बाँकेका इशा गिरि र झापाका पुनम प्रसाईं दुबै खेलाडी ६–६ अंक बटुल्दै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेक ाछन् ।

स्ट्यान्डर्ड क्लासिकल राष्ट्रिय प्रतियोगिताको पुरुषतर्फ दशौं चरण खेल पुरुषोत्तमले सरोज महर्जन, क्षितिजले प्रेमकृष्ण, राजनले शुश्रुत, धिरेनले विनय, रुपेशले आशिष् र नवीनले रिजेन्द्रबीच जारी रहेको छ । ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ड रहेको राष्ट्रिय महिला खेलतर्फ इशाले लक्ष्मी, पुनमले नयुमा, शुशीलाले निहाना, कृतिसाराले शान्ति, सिन्दाले दानिशा र एञ्जलले बिनिता सँग स्पर्धा गरिरहेका छन् ।

साताव्यापी सम्पन्न हुने राष्ट्रिय बुद्धिचाल खेलको अन्तिम खेल शनिबार बिहान ८ बजे शुरु हुने संयोजक धरम बहादुर लामाले जानकारी दिए ।