छिमेकी जिल्ला चितवनको रत्ननगर नगरपालिकामा सञ्चालन भएको तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा चितवनको राप्ती नगरपालिकालाई २–१ गोलले हराउँदै हेटौंडाले उपाधि जितेको हो । सहभागिताको पहिलो वर्षमै हेटौंडाले उपाधि जित्न सफल भएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको हेटौंडाले दोस्रो हाफको सुरुवातीमै गोल गरेको थियो । स्यामुयल सुनारले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै हेटौंडालाई अग्रता दिलाएका थिए । त्यसको करिब ३ मिनेटमा नै हेटौंडाले अग्रता दोब्बर बनायो ।
हेटौंडाका कप्तान रोशन दोङले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । राप्तीका भुवन लामाले हेटौंडाका विजय दोङलाई डिबक्स क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै दोङले गोल गरेका हुन् । राप्तीका निशान्त तामाङले अतिरिक्त समयमा गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
हेटौंडाले मकवानपुरकै मनहरी गाउँपालिकालाई हराउँदै फाइनल भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको उपाधि विजेता हेटौंडाले २ लाख ११ हजार एकसय ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता राप्तीले १ लाख ५१ हजार एकसय ११ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडाका स्यामुयल सुनार घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडाका कप्तान रोशन दोङ घोषित भए । उनले नगद १० हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाबाट राष्ट्रिय टिमका खेलाडी छिरिङ लामा, उमेर समूहको राष्ट्रिय टिमका निर्मल बलसहित ए डिभिजन लिगको अनुभव सम्हालिसकेका उपमहानगरपालिकाभित्रका खेलाडीहरु सहभागी थिए ।
नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र घिमिरेले पहिलो सहभागितामै उपाधि जित्न सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए । फाइनलमा खेलाडीको हौसला बढाउनका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामासहित वडा अध्यक्षहरु समेत चितवन पुगेका थिए ।