वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा ४ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअन्तर्गत् आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो । सोही अनुसार उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन गरेका हुन् । हेटौंडाको मेयरमा २१ जना, उपमेयमारमा ११ जना र १९ वटा वडाका अध्यक्षका १ सय ११ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको उम्मेदवारीबापत् २ लाख ६० हजार पाँचसय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
हेटौंडाको मेयरमा विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराएका हुन् । हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयकाले जनाएको छ । स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सन्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले मनोनयन दर्ता गराएका हुन् ।
उपमेयरमा ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । उपमेयरमासत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले मनोनयन दर्ता गरेका हुन् । स्वतन्त्रतर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।