२०८३ बैशाख ११, शुक्रबार    

हेटौंडामा चौथो मिस्टर मकवानपुर हुने

२०८२ बैशाख १०, बुधबार २०:०९ बजे

हेटौंडामा चौथो मिस्टर मकवानपुर–२०८२ हुने भएको छ ।

मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ स्थित ओम्याक्स सिनेघरमा वैशाख २० गते हुने प्रतियोगिताको विजेताले १ लाख ३५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६६ हजार ६६६ रुपैयाँ र तेस्रो हुनेले ४१, १११ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुर समेत आयोजना गरिने आयोजकले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

आयोजक संघका अध्यक्ष राजेश भेटवालका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले सहभागिता जनाउनेछन् । बेष्ट फिजिक्स वुमन्सय च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २६, ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो मिस्टर भेट्रान्सतर्फ प्रथम हुनेले ३३ हजार ३३३, द्वितीय हुनेले २६, ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स फिजिक्स च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २६, ६६६ रुपैयाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिता संयोजक सुनिल लोप्चनले जानकारी दिए । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र विभिन्न स्थानीय तहबाट सहयोग प्राप्त हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका सल्लाहकार तथा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानु लामा र सल्लाहकार श्रीकृष्ण कर्माचार्य ‘भाइ’को उपस्थिति रहेको थियो ।