२०८३ बैशाख १५, मंगलबार    

सक्रिय महिला उद्योगलाई हेटौंडा उपमहानगरपालिकाले दियो अनुज्ञा पत्र

२०८१ असार ११, मंगलबार १५:१५ बजे

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको सक्रिय महिला उद्योगलाई हेटौंडा उपमहानगरपालिकाले अनुज्ञा पत्र दिएको छ ।

आज हेटौंडा–६ स्थित सिटी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरि उपमहानगरपालिकाले उद्योगलाई अनुज्ञापत्र दिएको हो । सक्रिय महिला उद्योगले चिप्स र दालमोठको उत्पादन सुरु गरेको छ । उपमहानगरपालिकाको १ लाख रुपैँयाको आर्थिक सहयोगमा उद्योगमा उत्पादन थालिएको उद्योगकी अध्यक्ष अनुराधा उप्रेतीले बताईन् ।
 
पटक पटक तालिमहरु लिरहनु भन्दा एउटा तालिम लिएर त्यसलाई दिगो रुपमा सदुपयोग हुनेगरि आफुहरु व्यवसायिक रुपमा जाने सोच बनाएको उनले बताईन् । ‘हामीले केहि सीप गरि आयआर्जन गर्ने सोच बनाएर नगरपालिकाको सहयोगमा दालमोठ र चिप्स बनाउने तालिम लियौ । पन्ध्र जनाले तालिम लिएका थियौं, अहिले दश जना दिदिबहिनीहरु सक्रिय रुपमा काम गरिरहनुभएको छ । उनले भनिन्।

‘हामी यसलाई निरन्तरता दिनेछौं । हामी आफै उद्यम गरेर स्वरोजगार बन्ने चाहना राखेर मिहेनत गरिरहेका छौं । अब हामीसँग प्याकेजिङ् गर्ने मेसिन छैन, नगरपालिकाको सहयोगको अपेक्षा छ।’ कार्यक्रममा विशिष्ट अतिथि हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेलले आउँदो आर्थिक वर्षमा उद्योगलाई प्याकजिङ्का लागि उपयुक्त मेसिन हस्ताणतरण गरिने बताएका छन् । हातेमेसिनको प्रयोग गरेर काम गर्नुपरेको बाध्यात्मक स्थितिलाई हटाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि हेटौंडा–का वडाअध्यक्ष विष्णु बहादुर दाहालले चुल्होचौका छाडेर घरको आर्थिकोपार्जनमा महिलाहरु लागिपरेकोमा खुसी व्यक्त गरेका छन् । उद्योग व्यववस्थापनको पाटो सजिलो नभएको भन्दै आफु सधैं सहयोगमा सक्रिय भएर लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले विभिन्न वडाहरुमा तालिमको आयोजना गरि महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्दै आईरहेको छ । हालसम्म उपमहानगरपालकिाले तोफु, ढाकाको कपडा, गुन्द्रुक, काठका हस्तकला, अचार आदि बनाउने तालिमहरु दिँदै आईरहेको छ ।

कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णु बहादुर दाहाल, हेटौंडा उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिम प्रसाद पौडेल, उद्योगकी अध्यक्ष अनुराधा उप्रेती, प्रशिक्षकहरु शोभा श्रेष्ठ र सुचना श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।